प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्ल...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - ललितपुरको कुपण्डोल हाइटमा समिट होटल र अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका र समिट होटलबीच सहमति भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको रोहबरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, वडा नम्बर १ र २ का वडाध्यक्ष, होटल समिट र पीडित पक्षबीच भएको सर्वपक्षीय बैठकमा तत्काल राहत तथा पुनर्स्थापना लगायतको सहमति भएको हो ।
१२ बुँदे सहमतिमा चर्केका र भत्किएका घरको मर्मत र निर्माण कम्पनीले गर्ने, भासिएका कारण बन्द रहेको होटल ग्रिनविचमा काम गर्नेहरुलाई खान बस्नको व्यवस्था गर्ने तथा तत्कालका लागि समिट होटल एण्ड अपार्टमेन्टको निर्माण कार्य रोक्ने उल्लेख छ । ललितपुर महानगरपालिकाको निर्देशनपछि निर्माणको काम रोकिएको छ ।
यस्तै, बैठकले तत्काल राहत तथा पुनःस्थापनाको काम अघि बढाउन पीडकको पक्षबाट एक करोड रुपैयाँको ‘र्यापिड रिलिफ फण्ड’ स्थापना गर्ने निर्णय पनि भएको छ ।
यस्तै, बैठकले प्रभावितहरुको समस्या तत्काल समाधानका लागि सहजीकरण गर्न ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । समितिमा महानगरपालिकासहित पीडित र पीडक दुवै पक्षको सहभागिता रहेको छ।
सर्वपक्षीय बैठक अघि प्रभावित क्षेत्रको अवलोकन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले तत्काल अवैध संरचना निर्माणको काम रोकेर प्रभावित पीडितहरूको राहत तथा उद्धारको काममा लाग्न होटल पक्षलाई निर्देशन दिनुभएको थियो । उहाँले पहिले राहत तथा पुनर्स्थापनाको कामलाई अघि बढाइने र त्यसपछि अवैध संरचना निर्माण गर्ने होटल समिटमाथि कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो ।
नक्सापास नगरि काम सुरू गरेकाले यसको व्यवस्थापन पक्ष सिधै दोषी रहेको मेयर महर्जनको भनाइ छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १ र २ मा पर्ने बखुण्डोलमा रहेको तत्कालीन समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट निर्माण गर्ने क्रममा गएको शुक्रवार राति जमिन भासिएपछि घरहरुमा क्षति पुगेको छ । ६ वटा घरहरू पूर्ण रूपमा प्रभावित भएका छन् भने अरु थुप्रै घरहरू समेत जोखिममा परेका छन् । जमिन भासिएका कारण स्थानीयवासी घर छाडेर भाग्न बाध्य भएका छन् । अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले यो अपार्टमेन्ट बनाउन लागेको हो ।
सात अर्ब रुपैयाँ लगानीमा होटलसहित त्यहाँ दुई सय बेड क्षमताको सुविधासम्पन्न संरचना बनाउने योजना छ । आफूहरुले निर्माण अघि नबढाउन बारम्बार आग्रह गरेको भए पनि निर्माण पक्षले अटेर गरेर काम अघि बढाउँदा आफूहरुको बिचल्ली भएको स्थानीयको गुनासो छ । निर्माणाधीन समिट अपार्टमेन्टले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) पनि नगरेको पाइएको छ ।
वातावरण संरक्षण नियमावली, २०७७ मा एक सय बेडभन्दा बढीको होटल तथा १० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा बन्ने भवनको अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तो प्रतिवेदन प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गर्नुपर्छ । निर्माण कार्य रोक्न यसअघि नै ललितपुर महानगरपालिकामा निवेदन दिएको भए पनि महानगरले बेवास्ता गरेको र निर्माण पक्षले शक्ति प्रयोग गरी अवैध संचना बनाएको पीडितको आरोप छ ।
हिजो भएको सर्वपक्षीय छलफलमा निर्माणाधीन होटल समिटको पक्षबाट चौधरी ग्रुप अफ कम्पनीका मालिक विनोद चौधरीका छोरा निर्वाण चौधरीले घटनाबाट दु:खी भएको बताउँदै पीडितको राहत तथा पुनःस्थापना पछि मात्रै अपार्टमेन्टको निर्माण कार्य अघि बढाउने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।