उत्पादन र बिक्रीकाे आधारमा कृषि अनुदान

 चैत २७, २०७९ सोमबार २०:२१:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा किसानलाई उत्पादनको आधारमा अनुदान प्रदान गरिएको छ । किसानले उत्पादन गरेर बिक्री गरेको परिमाणका आधारमा गाउँपालिकाकाे वडा नम्बर ७ र ९ का ८८ जनालाई अनुदान हस्तान्तरण गरिएको हो । 

पालिकाकाे कृषि विकास शाखाले तरकारी उत्पादन गर्ने १३ जना किसानलाई तथा पशु शाखाले भैँसी र खसीबाेका पाल्ने ७५ जना किसानलाई अनुदान दिइएको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । वडा नम्बर ७ को कार्यालय प्राङ्गणमा भएको अनुदान हस्तान्तरण कार्यक्रममा पशुपालनतर्फका किसान वडा नम्बर ७ की हिमा बुढाले सबैभन्दा बढी अनुदान प्राप्त गर्नुभएको छ । उहाँले दुई सय ४५ किलाे बराबरकाे छ वटा खसीबोका बिक्री गर्नुभएको थियो । उहाँलाई प्रतिकिलो ५० रुपैयाँका दरले १२ हजार दुई सय ५० रुपैयाँ अनुदान दिइएकाे पशु शाखा प्रमुख भूपेन्द्र पुनले जानकारी दिनुभयो । 

त्यस्तै कृषि विकास शाखाअन्तर्गत वडा नम्बर ९ का टंकप्रकाश खड्काले सबैभन्दा धेरै अनुदान प्राप्त गर्नुभएकाे छ । उहाँले १६ हजार चार सय रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ । उहाँले एक हजार छ सय ४० किलो गाेलभेडा उत्पादन गर्नुभएको थियो । उहाँलाई प्रतिकिलो १० रुपैयाँ अनुदान दिइएको हाे ।

अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले नयाँ जनप्रतिनिधिको भिजनअनुसार मापदण्ड पुगेका वास्तविक किसानलाई प्रोत्साहन कार्यक्रम ल्याइएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उत्पादन बढी गरेमा अनुदान पनि बढी पाइने र आउँदा दिनमा यस्तो कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजाने उहाँको भनाइ रहेको छ । अध्यक्ष विष्टले वार्षिक एक हजार लिटर  दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ प्रदान गरिने व्यवस्था पनि पालिकाले गरेको जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले किसानलाई अनुदान लागतका आधारमा दिँदा नक्कली किसानले बढी लाभ लिने भएकाले उत्पादनको आधारमा अनुदान दिने गाउँपालिकाले निर्णय गरेको बताउनुभयाे । उत्पादन वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन स्वरूप यस्तो कार्यक्रम ल्याइएको अधिकृत बुढाथोकीले बताउनुभयो ।

उत्पादनको आधारमा अनुदान कार्यक्रम गाउँपालिकाभित्रका सबै वडामा लागू भएको र अन्य वडामा पनि छिट्टै अनुदान प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ९ मा झन्डै ८७ हजार रुपैयाँ अनुदान हस्तान्तरण गरिएको छ भने वडा नम्बर ७ मा दुई लाख ८७ हजार एक सय रुपैयाँ अनुदान प्रदान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया