आजदेखि मिटरब्याज पीडितको निवेदन सङ्कलन सुरु, ३१ गतेसम्म दिन सकिने

 वैशाख १७, २०८० आइतबार १५:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यालय सञ्चालनसँगै पीडितहरूको निवेदन सङ्कलन पनि सुरु गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिनुभयो ।

पीडितले आज आइतवारदेखि वैशाख ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन् । उनीहरूले अनलाइनबाट आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा पुगेर निवेदन दिन सक्ने अध्यक्ष कार्कीले बताउनुभयो । ७७ वटै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ । निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भरिदिने प्रबन्ध गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्नका लागि गएको चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

यसैबीच कार्यालयको उद्घाटन गर्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडित समस्या समाधान र पीडकलाई कानुनको कठघरामा ल्याउन सरकार निर्ममतापूर्वक प्रस्तुत हुने बताउनुभयो । उहाँले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने बताउनुभएको छ ।

यस्तै कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कर्मचारी र प्रहरी समायोजन गरिदिएमा २४ घण्टाभित्र मिटरब्याज पीडितलाई न्याय दिने दाबी गर्नुभयो । प्रहरी प्रदेश संयन्त्रप्रति उत्तरदायी नभएको भन्दै समायोजन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारसँग समन्वय नगरेमा आयोगले सहजरूपमा काम गर्न नसक्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया