दसैँमा बढ्यो दुर्घटना : काठमाडौं उपत्यका मात्रै १३ जनाको ज्यान गयो

 कात्तिक ५, २०७५ सोमबार १५:१२:२० | उज्यालो सहकर्मी

काठमाडौं – घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । 

काठमाडौं , ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा ८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन् । 

यो वर्षको दसैँमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ वर्ष यताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ ।  दुर्घटनाको संख्या पनि ५ वर्ष यताकै धेरै २ सय ७२ वटा भएका छन् । गएको वर्ष दसैन्को समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७३ -७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । विशेष गरेर रक्सी पिएर  सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । साथै यस वर्षका दुर्घटनाहरु मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाले जनाएको छ ।

यसैगरी ट्राफिक प्रहरी कार्यालयले रक्सी पिएर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारबाही गरेको छ । बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दूरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ तिहार तथा छठ पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको १ सय १४ स्थानमा ६ सय ८७ जना जनशक्ति परिचालन गरेको छ ।  

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया