‘मर्नुअघि छोराको मुख हेर्ने मेरी सासू आमाको रहर म कसरी पूरा गरूँ’

 वैशाख २८, २०८० बिहीबार १५:२१:४९
unn.prixa.net

गीता खड्का पोखरेल, खोटाङ । 

म गीता खड्का पोखरेल । परदेशीको श्रीमती हु । तर सात वर्ष भयो मैले श्रीमानको खबर पाएको छैन । सोच्न त मैले पनि श्रीमानले विदेशमा कमाउनु होला, दुःखहरू जीवनबाट टाढा होलान् भन्ने नै सोचेको थिएँ । तर कहाँ पुग्थ्यो र सोचे जति सबै ।

आज कमाउन जानुभएका श्रीमान् मलेसियामै हराएपछि कसरी खोजौँ, बुढी भएकी सासू आमाको मर्नुअघि छोराको अनुहार हेर्ने रहर कसरी पूरा गरौँ भएको छ । फोन गर्न लाग्दैन, साथीभाइलाई भनौँ चिनेको छैन । दिनरात मेरा आँखाबाट खसेका आशुले सिरानी भिज्छ तर म रोएको उहाँले देख्नुहुन्न । मेरो त परको कुरा सायद आमाको पर्खाइ पनि उहाँले बुझ्नुभएन । 

मेरो घर खोटाङको खोटेहाङ्ग गाउँपालिका ९ मा हो । मेरो श्रीमानको नाम रमेश पोखरेल हो । उहाँका दुई दाजुभाइ हुनुहुन्छ । मेरो श्रीमान् घरको जेठो सन्तान हुनुहुन्छ ।

मसँग बिहे हुनुअघि पनि मेरो श्रीमान् रोजगारीका लागि कतार जानुभएको रहेछ । उहाँले कतारमा केही वर्ष बिताएर फर्किएपछि हाम्रो  २०६९ असार १५ गते विवाह भयो । त्यसै वर्ष चैतमा हाम्रो छोरा पनि जन्मियो । बच्चा पनि भएपछि परिवारमा पक्कै पनि जिम्मेवारी त बढ्ने नै भयो ।

पहाडको कम उत्पादन हुने घर खेत मात्र पर्याप्त भएन जीवन चलाउन । त्यसपछि हामी उदयपुर झर्‍यौँ । मलाई उदयपुरको वेल्टार बजारमा कोठा भाडामा राखेर उहाँ रोजगारीका लागि २०७१ वैशाख २८ गते मलेसिया जानुभयो । 

मलेसियामा उहाँको काम र कमाई नराम्रो थिएन । बेला बेलामा पैसा पठाइरहनुहुन्थ्यो । मैले पनि यता छोरो काखी च्यापेर भए पनि मेलापात गर्दै आफ्नो खर्च जसोतसो पुर्‍याइरहेको थिएँ । कहिलेकाहीँ मेरो कमाइले नपुगेका बेलामा मात्र श्रीमानले कमाएको पैसा चलाउँथेँ । नत्र उहाँको कमाई बचत नै गरिरहेको थिएँ । 

पछिल्लो समय उहाँले कमाई राम्रो हुन छाडेको भन्न थालेपछि मैले सकेसम्म पैसा बचत गर्न थालेको थिएँ । 

उहाँले विदेश पुगेको तीन वर्षसम्म त लगातार पैसा पनि पठाउनुभयो । मैले पनि जसोतसो दुःख जेलो गर्दै अलिअलि कमाइ गरिरहेको थिएँ । दुवै तिरको पैसा मिलाएर थोरै जग्गा पनि किनेँ । उहाँ विदेश जाने बेलामा लागेको ऋण पनि तिरियो । 

त्यसपछि भने श्रीमानले उताबाट फोन कम गर्न थाल्नुभयो । कहिलेकाहीँ फोन गर्नुहुन्थ्यो । किन फोन नगर्नुभएको भनेर सोध्दा मसँग पैसा नभएर भन्नुहुन्थ्यो त कहिले मोबाइल हरायो भन्नुहुन्थ्यो । 

मैले यताबाट पनि धेरै पटक गरेँ उहाँले फोन गरेको नम्बरमा । तर उहाँले यो अरूको नम्बर हो । बारम्बार फोन नगर भन्नुभयो । म उताबाट फोन आउला नि भन्दै कुरिरहन्थ्यें । तर बिस्तारै उहाँले फोन गर्नै छाड्नुभयो । २०७४ सालदेखि त आजका दिनसम्म उहाँको न फोन आएको छ न कुनै खबर । उहाँ बेखबर नै हुनुभयो । 

उहाँले छाडेर जानुभएको काखे छोरा अहिले १० वर्षको भइसक्यो । मैले दैनिक ज्याला मजदुरी गरेर छोरालाई स्कुल पढाइरहेको छु । सासू आमा खोटाङ मै हुनुहुन्छ । उहाँलाई दमको रोग छ ।

छोरालाई खोजेर ल्याइदेऊ, मर्ने बेलामा अनुहार हेर्छु भन्नुहुन्छ । छोराको अनुहार नहेरी मर्छु जस्तो छ भनेर आमा दिनरात रुनुहुन्छ । छोराकै पिरले सासू आमा निकै कमजोर भइसक्नुभएको छ । छोराले पनि हाम्रो बाबा किन नआएको भनेर सोधिरहन्छ । म के जवाफ दिऊ, मलाई नै थाहा छैन ।

मलाई केही सम्पत्ति पनि चाहिँदैन । यदि तपाईँ मलेसियामा या जहाँ भए पनि आमाको मुख हेर्नका लागि आउनुहोस् । छोराको लागि एक पटक भए पनि आएर आफ्नो अनुहार देखाइदिनुहोस् । पैसा ल्याउन पर्दैन, हामीलाई सम्झेर तपाईँ आइदिनुहोस् । त्यति भए हामीलाई पुग्छ ।

(प्रस्तुति : आप्रवासी स्रोत केन्द्र उदयपुर ।)

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया