रुकुम पश्चिममा मापदण्ड विपरीत निर्माण हुँदै गरेको सडक डोजर लगाएर भत्काइयो

 जेठ ३०, २०८० मंगलबार ७:३५:२३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा मापदण्ड विपरीत गुणस्तरहीन काम भएको भन्दै डोजर लगाएर सडक भत्काइएको छ । आठबिसकोट नगरपालिकाले आफ्नै पालिकाको केन्द्र रहेको राडी बजारमा निर्माणाधीन सडकमा डोजर लगाएर भत्काएको हो ।

मेयर रवि केसीले मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको पाइएपछि निर्माणकै क्रममा रहेको सडक भत्काइएको बताउनुभयो । केसीसहितको टोलीले निर्माणाधीन सडकको अस्ति आइतवार अनुगमन समेत गरेको थियो ।

अनुगमनको क्रममा मापदण्ड विपरीत निर्माण भएको भेटिएपछि हिजो डोजर नै लगाएर सडक भत्काइएको हो । आठबिसकोट नगरपालिका–९ मा निर्माणाधीन राडी बजारदेखि दाजे जोड्ने र पसानेदेखि रामघाट जोड्ने सडक प्राविधिक टोलीसहित अनुगमन गरिएको थियो ।

गुणस्तरहीन काम भएको ठाउँमा भत्काइएको नगरपालिकाका मेयर केसीले बताउनुभयो । बाँकी रहेको काममा पनि गुणस्तर कायम गर्न उहाँले निर्माण कम्पनीलाई अनुरोध गर्नुभएको छ । अनुगमन टोलीले सडकछेउमा नाला निर्माण गर्दा गिट्टी र ढुङ्गाको मात्रा ६०/४० हुनुपर्नेमा ढुङ्गा मात्रै राखेर ढलान गरेको पाइएको जनाएको छ । त्यसैगरी निर्माण भएको नाला कतै भासिएको, एक हप्ता नपुग्दै भत्किएको पाइएको थियो । आरसीसी गरेको सडक समेत केही दिनमै भत्किएर छड देखिन थालेको अनुगमन टोलीले जनाएको छ ।

बसपार्क र क्याम्पसनजिकको ढलानमा बालुवा, सिमेन्ट र गिट्टीको मात्रा नमिलेपछि भत्किन थालेको, एकातिर निर्माण पूरा नहुँदै र अर्कातिरबाट भत्किन सुरु गरेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका थिए । सहरी विकास मन्त्रालयमार्फत् भइरहेको सडक निर्माणको ठेक्का गौरीशंकर हिमालयन कन्ट्रक्सन र शुभारम्भ कन्ट्रक्सन प्रालिले लिएको छ ।

गौरीशंकर कन्ट्रक्सनले राडी बजारदेखि खारखारासम्म ग्राबेल, मेसनरीवाल र नालासहित १४ करोड रुपैयाँमा  र शुभारम्भ कन्ट्रक्सन प्रालीले ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया