वसन्तयाममा सगरमाथामा ७५ टन फोहोर उत्पादन, मानिसको मलमूत्र साढे २१ हजार किलो

 असार ३, २०८० आइतबार १५:२४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सगरमाथामा यो वर्षको वसन्तयाममा ७५ टन फोहोर उत्पादन भएको छ । वसन्तयामको आरोहण सिजनमा सगरमाथा आधार शिविर र त्योभन्दा माथिसमेत गरी ७५ टन फोहोर उत्पादन भएको र त्यसमध्ये झन्डै ७० टन फोहोर सङ्कलन भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।

एसपीसीले आरोहणको समयमा सगरमाथाको फोहोर व्यवस्थापन गर्दै आएको छ । एसपीसीसीका कर्मचारीले आधार शिविरमा ६० हजार चार सय ८८ किलो फोहोर सङ्कलन गरेका छन् । जसमध्ये २१ हजार चार सय ४९ किलो जलाउन सकिने र सात हजार पाँच सय ३६ किलो जलाउन नसकिने फोहोर रहेको छ । यस्तै २१ हजार पाँच सय सात किलो मानव दिसा र नौ हजार नाै सय ९६ किलो भान्छाबाट निस्किएको फोहोर रहेको एसपीसीसीले जनाएको छ ।

आधार शिविरभन्दा माथिबाट आरोहीले आठ हजार नाै सय ५४ किलो फोहोर फिर्ता ल्याएर छन् । हरेक आरोहीले आधार शिविरभन्दा माथिबाट आठ किलोका दरले फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । सङ्कलन गरेकोमध्ये जलाउन सकिने र नसकिने फोहोर नाम्चेसम्म ढुवानी भइसकेको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार जलाउन सकिने फोहोर नाम्चेमै व्यवस्थापन गरिने छ भने जलाउन नसकिने फोहोर विमानमार्फत काठमाण्डौ पठाइने छ । मानव मलमूत्र र भान्छाबाट निस्किएको फोहोर भने आधार शिविरभन्दा केही तल ल्याएर व्यवस्थापन गर्दै आएको एसपीसीसीले जनाएको छ ।

तस्बिर : एसपीसीसी

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया