काठमाण्डौमा नेपाल स्वास्थ्य सम्मेलन शुरू

 पुष ११, २०८१ बिहीबार १२:१०:१८ | रासस
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन शुरू भएको छ ।

भोलिसम्म चल्ने सम्मेलनको उद्देश्य साझेदारी  प्रवर्द्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ः नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा आयोजित सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गर्नुभएको छ ।

साथै उहाँले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

सम्मेलनमा ९० भन्दा बढी देशबाट दर्ता भएका एक हजार जना सहभागी हुँदैछन । तीन सय जनाको भौतिक उपस्थिति र सात सय जना भर्चुअल माध्यमबाट सम्मेलनमा जोडिने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया