धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको सर्वेक्षणले देखाएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाले मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखाएको छ ।
सर्वेक्षणअनुसार नेपाली महिलाले लिने मातृ स्वास्थ्य सेवा पछिल्ला वर्षमा बढ्दो क्रममा देखिएको छ । ९४ प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा पाइरहेको देखिएको छ । सर्वेक्षणअनुसार नेपालमा आधाभन्दा बढी ५७ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ । यस्तै स्वास्थ्य संस्थामा बच्चा जन्माउने दर पनि बढेको छ । २०१६ मा ६४ प्रतिशतले स्वास्थ्य संस्थामा बच्चा जन्माएकोमा यो संख्या बढेर २०२२ मा ७९ प्रतिशत पुगेको छ ।
यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीयरूपमा घटेको सर्वेक्षणले देखाएको छ । सन् १९९६ को सर्वेक्षणमा पाँच वर्ष मुनिका प्रति एक हजार जीवित जन्ममा एक सय ९८ को ज्यान जाने गरेकोमा अहिले प्रति एक हजार जीवित जन्ममा ३३ को ज्यान जाने गरेको देखिएको छ ।
सर्वेक्षणले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको देखाए पनि चुनौती अझै बाँकी रहेकोसमेत उल्लेख गरेको छ । नेपालमा छ महिनाभन्दा कम उमेरका शिशुलाई पूर्णरुपमा स्तनपान गराउने प्रवृत्तिमा समयसँगै उतारचढाव भएको देखिन्छ । यस्तो तथ्याङ्क सन् १९९६ मा ७५ प्रतिशत थियो भने सन २०२२ मा ५६ प्रतिशतमा झरेको छ । विश्व पोषण निर्देशिकाले शिशुलाई बाल मृत्यु तथा अन्य रोगहरुबाट बचाउनको लागि जन्मेको पहिलो छ महिनासम्म पूर्णरुपमा स्तनपान मात्र गराउन सिफारिस गरेको छ । किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको सर्वेक्षणले देखाएको छ । जसमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी गर्भवती हुने देखिएको छ ।
यस्तै अघिल्लो सर्वेक्षणको तुलनामा यो सर्वेक्षणमा बाल्यकालको नियमित खोप कभरेज घटेको पाइएको छ । हाल ८० प्रतिशत बालबालिकाले सबै आधारभूत एन्टिजेन्स विरुद्ध खोप लगाएका छन् । २०११ को सर्वेक्षणमा ८७ प्रतिशत थियो ।
यो सर्वेक्षणले कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा पनि वृद्धि भएको देखाएको छ । सन् २०१६ को सर्वेक्षणमा कुनै पनि खोप नपाएका बालबालिकाको सङ्ख्या एक प्रतिशत थियो भने अहिले चार प्रतिशत पुगेको छ ।
सर्वेक्षणअनुसार नेपालमा १५ वर्ष वा त्योभन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ ।
सर्वेक्षणमा १५ देखि ४९ वर्षसम्मका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषले चिन्ता अर्थात एन्जाइटीका लक्षण अनुभव गरेका पाइएको छ । त्यसैगरी, १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेको सर्वेक्षणमा सर्वेक्षणमा छ । सर्वेक्षणअनुसार नेपालमा ७२ प्रतिशत विवाहित महिलाले आफ्नो स्वास्थ्यको हेरचाह सम्बन्धि निर्णय आफैँ वा संयुक्तरुपमा गर्ने गर्दछन् ।
नेपालमा सन् १९९६ बाट सुरु गरिएकोे जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण हरेक पाँच वर्षमा हुँदै आएको छ । सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) बाट आर्थिक सहयोग प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।