जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढ्यो, १४ किसिमका कागजात पुग्नुपर्ने

 असार १२, २०८० मंगलबार ७:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

नागरिकता विधेयक प्रमाणीकरण भइ कार्यान्वयनमा आएसँगै सोमवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा जन्मको आधारमा नागरिकता लिनको लागि लाइन। तस्बिरः रासस

काठमाण्डाै - नयाँ व्यवस्था अनुसार नागरिकता वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढ्न थालेको छ ।

नागरिकतासम्बन्धी नयाँ ऐन लागू भएपछि जन्मसिद्ध नेपालीका छोराछोरीले नागरिकता लिन थालेका हुन् । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार नागरिकता दिन थालिएको हो ।

लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनको बाटो खुला भएको हो । संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नसक्ने वर्तमान कानुनले व्यवस्था गरेको छ ।

यसै आधारमा जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालयमा वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको छ । धनुषा, सिरहा, सर्लाही, नवलपरासी, रुपन्देही, पर्सा, चितवन, मोरङ, झापालगायतका जिल्ला प्रशासन कार्यालयमा भिड बढेको छ । फेरि कुनै माथिल्लो आदेश वा अदालतले नागरिकता वितरण रोक्न सक्ने संशयका कारण धेरैजसो नागरिकता लिने हतारोमा छन् ।

जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभएको छ । उहाँका अनुसार बढ्दो भिडलाई व्यवस्थापन गर्न र कामलाई थप व्यवस्थित गर्न पालिकाअनुसार आलोपालो प्रणाली लागू गरिएको छ ।

नयाँ ऐन र गृह मन्त्रालयको परिपत्रअनुसार नागरिकता वितरण भइरहेको नवलपरासी पश्चिममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनुभएको छ । उहाँ अनुसार भिड बढेपछि अनलाइनमार्फत् टोकन प्रणाली लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरूले १४ किसिमका कागजात पुर्याएपछि मात्रै जन्मको आधारमा नागरिकता दिनेछन् । अनुसूची–१ अनुसारको सिफारिस, बाबु र आमाको सक्कल नागरिकता प्रमाणपत्र, अनलाइन दर्ता भएको सक्कल जन्मदर्ता प्रमाणपत्र, अध्ययन गरेको भए शैक्षिक प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने किटानी सिफारिस, स्थायी बसोबासको निस्सा, २०६३ को नाबालक दर्ता गरेको भए त्यसको निस्सा, बसाइँसराइ भएको हकमा बसाइँसराइको दर्ता प्रमाणपत्र, आवश्यकताअनुसार वडाको सर्जमिन मुचुल्का, बाबु र आमाको विवाह दर्ता र बाबुआमा कसैको वा दुवैको ज्यान गएको भए मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।

जन्मको आधारमा नागरिकता लिन पुर्याउनुपर्ने प्रक्रियाका कारण कागजात पूरा नहुँदा केहीलाई समस्या भएको छ । अहिले नागरिकता लिन आउनेहरूमा स्थायी बसोबास वा बसाइँ सरेर आएको प्रमाण पुर्याउन नसक्ने समस्या छ । नागरिकता ऐनमा गरिएको नयाँ व्यवस्थाअनुसार झण्डै ५ लाखले नागरिकता लिने अनुमान छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • rupesh khati

    June 30, 2023, 12:01 a.m.

    नागरिक्ता पाउ भनी याेे पर्त्र पेस गरेकाे हु

  •  0 Reply

तपाईको प्रतिक्रिया