धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।
‘असारको तेस्रो हप्ताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिकाअनुसार काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी छ ।’ हतारमा नतिजा प्रकाशित गर्दा धेरै त्रुटि हुने सम्भावना भएकाले सकेसम्म त्रुटि नहुने गरी नतिजा प्रकाशन गरिने उहाँको भनाइ छ । ‘जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्छौँ’, उहाँले भन्नुभयो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाको नतिजा यही हप्ताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताउनुभयो ।
एसईई गएको चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए । कक्षा ९ देखि प्राविधिक धारसमेत पढाउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयले जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो ।
नतिजा पद्धतिमा अन्योल
एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुङ्गो लागेको छैन । निजी विद्यालयको छाता संस्था एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा टुङ्गो नलाग्दा अन्योल भएको बताउनुभयो ।
बोर्डले गएको वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरे पनि नतिजा भने २०७२ को पद्धतिअनुसार नै गरेको थियो । ‘पुरानो पाठ्यक्रमबाट एसईइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने हाम्रो माग छ’, अध्यक्ष खड्काले भन्नुभयो, ‘नयाँ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशित भए अनुत्तीर्ण हुने विद्यार्थीको भविष्य अन्योल बन्छ ।’ आउँदो वर्षको नयाँ पाठ्यक्रममा आधारित भईइ प्रश्नपत्र आउने र यसले पुराना पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई निकै मर्का पर्न उहाँको भनाइ छ ।
विसं २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था थियो । विसं २०७२ को पद्धतिअनुसार नतिजा प्रकाशित भए ९० देखि १०० ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गर्ने व्यवस्था छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ ।
दुई विषयसम्म नन ग्रेडिङमा परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यसभन्दा धेरै विषयमा नन ग्रेडिङमा परे अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा धेरै विषयमा ननग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
बोर्ड बैठक आज
एसइईको नतिजा कुन पद्धतिमा गर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज सोमवार बस्ने भएको छ । बोर्डका अध्यक्ष डा. शर्माले भन्नुभयो, ‘एसईईको नतिजा कुन पद्धतिमा हुन्छ भनेर अन्योलमा पर्नुपर्ने अवस्था छैन, यसबारेमा निर्णय लिन आज बोर्ड बैठक बस्दैछ, सम्भवतः आजकै बैठकले यसबारेमा निर्णय लिनेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
यसाेदा सुवेदी
July 3, 2023, 4:43 p.m.याे ब्याजले पुरानै काेर्स पढेको छ नया काेर्स यकदम फरक छ याे कुराले पनि विद्यार्थीलाई मर्का पर्न सक्छ त्यस कारण पुरानै ग्रेड अनुसार रिजेल्ट गर्नुपर्ने मेराे भनाइ छ हस्त धन्यवाद 🙏🙏