‘अरू केही चाहिँदैन, मलेसियामा सन्चै छ भन्ने खबर मात्र गरिदिए पुग्छ’

 असार २६, २०८० मंगलबार १७:९:५४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

मेरो नाम कुन्तीकुमारी चौधरी हो । मेरो घर उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा पर्छ । मेरो जीवन यति बेला दुःखको सागरमा डुबेको छ ।

यो दुःखमा मलाई अलिअलि सहयोग मलेसियामा बस्नुहुने तपाईँहरू सबैको चाहिएको छ । मेरो श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया जानुभएको हो । त्यसअघि पनि मलेसियामा नै काम गरेर फर्कनुभएको थियो ।

मलेसियामा डब्ल्यु सिटी कन्स्ट्रक्सन एसडीएन बिएचडी नामक कम्पनीमा उहाँ श्रम स्वीकृति लिएर जानुभएको हो । उहाँलाई यो काममा काठमण्डौको वसुन्धारा स्थित पिजन ओभरसिजले पठाएको हो । नेपालबाट गएको डेढ वर्षसम्म त सम्पर्कमा नै हुनुहुन्थ्यो ।

तर २०७४ सालको मङ्सिर ४ गते हो मैले यहाँबाट फोन गर्दा उहाँको फोन लागेन । त्यस दिनदेखि मैले यहाँबाट हजारौँ पटक फोन गरिसकेँ । तर यताबाट गर्दा लागेन । नत उताबाट नै फोन आयो । उहाँले फोन गर्नुहुन्छ होला भनेर नै कुरियो निकै समय त । अब त आशै आसमा निराश भएका छौँ । 

केही सरकारी कार्यालयमा पनि निवेदन दिएका थियौँ । तर त्यो कार्यालयबाट पनि कुनै खबर आएको छैन । घरमा बुढा भएका सासू ससुरा हुनुहुन्छ । रोजीरोटी चलाउनै गाह्रो भएपछि म अहिले एउटा बिस्कुट फ्याक्ट्रीमा काम गरिरहेको छु । यही कमाइले छोराछोरीलाई पनि पढाइरहेको छु । 

सासू ससुरा बिरामी हुनुहुन्छ । दुवै जनालाई हातखुट्टा दुख्ने समस्याले च्यापेको छ । मैले जसोतसो काम गरेर बिहान बेलुकाको छाकको व्यवस्था त गरेको छु । तर राम्रो अस्पताल लगेर उहाँहरूको उपचार गर्न सकेको छैन ।

घरको दुःख एकातिर छ । अर्कोतिर मन भरी श्रीमानकै चिन्ता छ । कुन अवस्थामा हुनुहुन्छ होला ? केही भयो कि भनेर मन आत्तिइरहन्छ ।

सासू ससुरालाई झन् चिन्ता छ । म कमाउन हिँड्न परेको छ । उहाँहरूलाई मेरो पनि चिन्ता छ । यता घरमा भएका नातिनातिनाको पनि । छोराको पिरले त उहाँहरूका आँखा ओभाएका छैनन् । रोएरै दिनरात बिताइरहनुभएको छ।

छोरो आए सुखको सास जान्थ्यो भन्नुहुन्छ । तर म कहाँ जाऊ खोज्न । जाने ठाउँ पनि छैन । नत सरकारले नै हामी दुःखीको कुरा सुनिदिन्छ । मन त कति रुन्छ रुन्छ । तर के गर्नु । हामी गरिबको पिडा कसैले पनि नबुझ्ने रहेछन् ।

यदि तपाईँसम्म मेरो यो पुकार आइपुग्यो भने म सन्चै छु मात्र भनिदिए पनि पुग्छ । केही चाहिँदैन । तपाईँलाई राम्रो छ भन्ने मात्र सुन्न पाए पनि यो ज्यानले एक मुठी सास आरामको फेर्ने छ । 

(प्रस्तुति : आप्रवासी स्रोत केन्द्र सहायता कक्ष, उदयपुर ।)

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sarmila tamang

    July 12, 2023, 7:26 a.m.

    के गर्नु पर्देशिको life यस्तै हो धेरै पैसा कामाउला आफ्न घर परिवारलाई सुखमा रखाउला छोराछोरीको भबिस्य राम्रो बनाउला भनी हजारौं सपना बोकेर परदेश लागेका नेपाली दाजु भाइ दिदीबहिनीहरुको पीडा धेरै छ कुनैलाई बन्दक बनौछ्न कुनैलाई मार्छन गाह्रो छ पर्देशिको life आफुले चहेर पनि परिवारको माया मन भरी राखेर दिन रात रुदै बस्नु पर्छ contact गर्न समेत दिदैन मैले पनि आफैले भोगी रहेकी छु यस्तो समस्य। कसरी नेपाल फर्किनु मर्नुन बाच्नु भैंरहेछ life । यसरी यस्तो कुराहरु हजारौंको समक्ष पुरौनु हुने tpi उज्यालो अन्लाईन .com लाई धेरै धेरै धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया