‘लार्भा खोज र नष्ट गर’ अभियानमा जुट्यो महानगर

 असार २९, २०८० शुक्रबार ६:४१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डेङ्गी रोग नियन्त्रणका लागि काठमाण्डाै महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ ।

नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गी फैलन सक्ने भन्दै महानगरले लार्भा खोज र नष्ट गर अभियान यसै हप्तादेखि सञ्चालन गर्न लागेको जनाएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि डेङ्गी फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न सरोकार भएको निकायहरूको सहकार्यमा अभियान सञ्चालन गर्न लागिएको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार याे काम नगर प्रहरीमार्फत टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने तथा वडास्तरमा गठन भएको द्रुतप्रतिकार्य टोलीसमेत परिचालन गरिनेछ ।

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ–आफ्नो टोल–टोलमा गई पानी जमेको ठाउँमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता काम गरिने भएको छ ।

लक्षण कस्तो हुन्छ ?

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ । यो रोग लाग्दा ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछ । 

असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ । डेङ्गी ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गी लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
 
यसबाट बच्ने उपाय

यो रोगबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि लामखुट्टे बस्ने ठाउँ जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम,गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया