देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ : यसवर्ष रोपाइँ कम हुनुमा मनसुन र लम्पी स्किन रोगको मुख्य प्रभाव

 असार ३०, २०८० शनिबार १०:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – देशभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गएको वर्ष भन्दा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ । पोहोरको तुलनामा यसवर्ष कम रोपाइँ हुनुमा मनसुन र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको मुख्य प्रभाव रहेको कृषि मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।

साउनको दोस्रो हप्तासम्ममा ९० प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको अनुमान छ । यसवर्ष मधेस प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको थियो । यस वर्ष मनसुनमा पानी कम पर्ने यसअघि नै पूर्वानुमान गरिएको थियो । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । त्यस्तै जनशक्तिको अभाव र लागत महंगो हुँदा पनि किसान समस्यामा छन् ।

यहि बेला पशुचौपायमा लम्पी स्कीन रोग फैलिएको छ । यो रोगबाट मुख्य गरी गोरु सङ्क्रमित हुँदा रोपाइँमा असर परेको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजार भन्दा धेरै पशु चौपायामा लम्पी स्किन रोग देखिएको छ । सङक्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङक्रमण छ । 
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया