भोलिदेखि काठमाण्डौको मच्छेनारायणमा पुरुषोत्तममास मेला

 साउन १, २०८० सोमबार १७:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको मच्छेनारायणमा भोलि मङ्गलवारदेखि पुरुषोत्तममास मेला शुरु हुँदैछ । पुरुषोत्तममास अर्थात् मलमासमा अरू कुनै शुभकार्य तथा भगवानको पूजा नहुने समयमा मच्छेनारायण मन्दिरमा मेला लाग्ने हुँदा यसको ठूलो महत्त्व रहेको पुरुषोत्तममास मेला व्यवस्थापन समितिका संयोजक तथा चन्द्रागिरि नगरपालिका–९ का वडाध्यक्ष अच्युत अधिकारीले बताउनुभयो ।

सत्यव्रत राजालाई हयग्रीव दानवले ठूलो दुःख दिएपछि त्यसबाट पृथ्वीको रक्षा गर्न तथा भगवान् ब्रह्माले गर्नुभएको सृष्टिको रक्षा गर्न विष्णुले मत्स्य अवतार धारण गर्नुभएकोले मेलाको बेग्लै महत्त्व रहेको पनि संयोजक अधिकारीले बताउनुभयो ।

विश्वमा लुम्बिनी, पोखरामा मात्र शान्तिस्तुपा रहेकोमा अहिले मच्छेनारायणको डाँडोमा रहेको शान्ति वनमा स्थापना गर्न लागिएको संयोजक अधिकारीले बताउनुभयो । मन्दिरमा भक्तजनलाई सहज दर्शनका लागि व्यवस्थापन समितिले पार्किङ, पूजासामग्री बेच्ने ठाउँको बेग्लै व्यवस्थापन गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

हरेक पुरुषोत्तममास वा मलमासमा मच्छेनारायणमा एक महिना लामो मेला लाग्ने गर्छ । हरेक पाँच वर्षमा दुई पटक वा तीन वर्षमा एक पटक मच्छेनारायणमा मेला हुने गर्छ । मेला एउटा औँसीदेखि अर्को औँसीसम्म लाग्ने गर्छ ।

काठमाण्डौको दक्षिण पश्चिम चन्द्रागिरि नगरपालिका–९ मा रहेको मच्छेनारायण मन्दिरमा जानका लागि सार्वजनिक गाडीमा रत्नपार्कबाट कीर्तिपुर हुँदै जान सकिन्छ । साथै कलङ्की, सतुङ्गलबाट पनि मन्दिरमा जान सकिन्छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया