‘वैदेशिक रोजगारीको कारण बिग्रिएका सम्बन्ध र घरपरिवार जोगाउन मनोपरामर्शले ठूलो भूमिका खेलेको छ’

 साउन ३, २०८० बुधबार १७:५६:५० | डा. पशुपति महत
unn.prixa.net

मनोपरामर्श सेवा अर्थात् अङ्ग्रेजीमा ‘साइकोसोसल काउन्सिलिङ’ भनिन्छ । मानिसमा विभिन्न कारणहरूले गर्दा व्यावहारिक कुराहरू आफूले सोचेजस्तो नहुँदा विभिन्न खालको घटनाले तनाव सृजना गर्दछ ।

यस्तो तनावले शरीरमा पनि असर गर्छ । त्यस्तो तनावलाई सहन सजिलो बनाउने एउटा उपाय मनोपरामर्श हो । तनाव बढ्दा मान्छेको मनमा डर, पिर, चिन्ताका साथै मनमा अनेक नकारात्मक सोचाइहरू आउने, निद्रा नलाग्ने, मन एकदम दिक्क भएर जाने, जिउ गलेर जानेजस्ता समस्याहरू हुन सक्छन् ।

यस्तो परिस्थितिमा मानिसले भोगेको समस्या र घटनासँग रहेको व्यक्तिको सबै परिस्थितिलाई धैर्यताका साथ सुनिदिने र कसरी त्यो परिस्थितिमा धैर्यता र आत्मबल बढाउन सकिन्छ भन्ने दृष्टिकोणमा केन्द्रित भएर गरिने कुराकानी नै मनोपरामर्श हो ।

वैदेशिक रोजगारीमा मनोपरामर्शको आवश्यकता 

वैदेशिक रोजगारीमा गएका व्यक्ति र परिवारका सदस्यहरूमा पनि एक खालको कामको बोझ हुन्छ । बच्चा बच्चीमा पनि बुवा आमा विदेश गएको बेला अरूको बुवा आमा देख्दा आफ्नो नदेख्दा एक खालको अप्ठेरो महसुस हुने त भइहाल्छ ।

त्यो सँगसँगै विदेशमा गएको व्यक्तिमा सबै राम्रा भयो भने त ठिकै छ । तर कतिपय घट्नामा श्रमिकको स्वास्थ्य अवस्था राम्रो नहुँदा, सोचेजस्तो कमाउन नसक्दा वा भनौँ कहिलेकाहीँ विभिन्न खालका समस्यामा पर्दा यहाँ परिवारका सदस्यमा असाध्यै धेरै पिर चिन्ता र तनाव हुने हुन्छ । अझ विदेशमा भएको व्यक्ती अप्ठेरोमा नै पर्‍यो, बिरामी भयो वा जेलमा पर्‍यो भने अझ बढी तनाव परिवारका सदस्यलाई हुन्छ ।

वैदेशिक रोजगारी राम्रो हुँदा त यहाँ पनि राम्रो नै हुन्छ । तर जब विदेशमा केही समस्या वा अप्ठेरो हुन्छ त्यस्तो बेला त्यसको प्रत्यक्ष असर परिवारमा पनि पर्छ । त्यसले उनीहरूको व्यवहार, भावना, काम गर्ने जाँगर र आफूले गर्नु पर्ने जिम्मेवारीमा नै असर पर्ने भएकाले त्यस्तो अप्ठेरोमा परेका व्यक्तिहरूलाई भेटेर उनीहरूको गोपनीयतालाई कायम राख्नै उनीहरूको अप्ठेरालाई राम्रोसँग सुनेर त्यसलाई समाधान गरिदिने बाटो अथवा मनलाई बलियो बनाएर, आत्मबल बलियो बनाएर विदेशमा भएका आफन्तलाई समेत हौसला दिने ढङ्गले मनोपरामर्शले तयार गर्दा त्यसले दुवैतिर सकारात्मक प्रभाव पारेको छ ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम लागू भएको करिब १० वर्षको अवधिमा प्राविधिक रूपमा कार्यक्रमलाई मनोपरामर्श सेवा सञ्चालनका लागि सहयोग गरिरहेको अनुभवले यता भएको मानिस मानसिक रूपमा र भावनात्मक रूपमा जति बलियो भयो त्यति नै उसले विदेशमा भएको आफ्नो मानिसलाई यताबाट हुन सक्ने सहयोग गर्न र त्यो अनुसार आफू परिचालन हुन सहयोग गर्ने भएकाले मनोपरामर्शको आवश्यकता छ । यो सेवाको माग पनि एकदमै धेरै छ । 

कतिपय त सम्बन्धमा दरार आउने घर परिवार बिग्रन सक्ने जोखिम पनि हुने गर्छन् । यस्तो समस्या भएका थुप्रै केशहरू सामी कार्यक्रम अन्तर्गत पालिकाहरूमा काम गरिरहनुभएका मनोपरामर्शकर्ताहरुले हेर्नुभएको छ ।

घर परिवारमा अनेक कुराले तनावहरू सृजना भइरहेको हुन सक्छ । जस्तै उदाहरणकै लागि भनौँ न छोरा विदेश गएको छ उसले बुहारीको नाममा पैसा पठायो भने सासू ससुराले नराम्रो मान्ने र त्यसको नकारात्मक असर विभिन्न रूपले पर्ने हुन्छ । श्रीमतीले विदेशबाट पठाएको पैसाको हरहिसाब राख्दा राख्दै पनि कहिलेकाहीँ पारिवारिक सम्बन्धकै कारण झैझगडा हुने वा भनौँ श्रीमानले श्रीमतीलाई गाली गर्ने सम्मका कुराहरू हुन सक्छन् । 

कतिपय त सम्बन्धमा दरार आउने घर परिवार बिग्रन सक्ने जोखिम पनि हुने गर्छन् । यस्तो समस्या भएका थुप्रै केशहरू सामी कार्यक्रम अन्तर्गत पालिकाहरूमा काम गरिरहनुभएका मनोपरामर्शकर्ताहरुले हेर्नुभएको छ ।

उहाँहरूले परिवारका सबै सदस्यसँग बसेर कुराकानी गर्ने र घरमा भएका सासू ससुरा र विदेशमा भएको व्यक्तिले समेत बुझेपछि परामर्शकै कारण धेरै सम्बन्धहरू बिग्रनबाट जोगिएको पनि छ । 

वैदेशिक रोजगारीमा पैसा आउँदा पनि घर परिवारमा तनाव हुने र नआउँदा पनि तनाव हुने स्थिति छ । विदेशको कमाइमा नै छोराछोरीको पढाइदेखि सबै कुरा भर पर्ने हुन्छ । त्यसो हुनेले जब अलिकति परिस्थिति सहज हुँदैन त्यति बेला तनाव बढ्ने, कतिपयले आत्महत्याको कोसिसहरू गर्ने गरेका थुप्रै प्रकारका केसहरू पनि हामीले हेरेका छौँ ।

यस्ता विविध पक्षमाथि काम गर्नका लागि पनि वैदेशिक रोजगारीमा गएका व्यक्ति र परिवारका सदस्यमा मनोपरामर्शको आवश्यकता एकदमै आवश्यक छ र यसको उपयोगिता पनि छ ।

मनोपरामर्श सेवा हरेक पालिकामा सञ्चालन हुन आवश्यक

अहिले सुरक्षित आप्रवासन कार्यक्रममार्फत ३८ जिल्लाका १५६ पालिकाहरूमा मनोपरामर्श सेवाहरू सञ्चालन भइरहेको छ । यो कार्यक्रम लागू गरिरहँदा पालिकाहरूले नै परामर्शकर्ताको छनौट गर्नुहुन्छ ।

उहाँहरूले भर्ना गरेका व्यक्तिहरूलाई नेपाल सरकारको  स्वास्थ्य मन्त्रालयले बनाएको छ महिने मनोपरामर्शको एउटा प्याकेज छ र त्यस अनुसार मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपालले तालिम दिने गरेको छ । तालिम लिएर गएका परामर्शकर्ताहरूलाई उहाँहरूले नै परिचालन गर्नुहुन्छ । 

त्यस कारण अब सरकारकै नीति रणनीतिले भने अनुसारको पद पालिकाहरूमा सृजना गरेर त्यो अनुसारको तालिम दिने संस्थाहरूको पनि क्षमता अभिवृद्धि गरी देशै भरी यो सेवा सञ्चालन गर्न जरुरी छ ।

हामीले अहिले नेपाल सरकारलाई भनेको चाहिँ राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति २०७७ ले पनि मानसिक स्वास्थ्य र मनोपरामर्श सेवा हरेक पालिकामा निःशुल्क उपलब्ध गराउन पर्छ भन्छ । आधारभूत स्वास्थ्य सेवा भित्र मानसिक स्वास्थ्य सेवालाई पनि राखेको छ ।

मानसिक स्वास्थ्य सेवाको सबैभन्दा महत्त्वपूर्ण सेवा मनोपरामर्श सेवा हो । हामीले अहिले अलिकति बढी वकालत गरेको चाहिँ सङ्घीय सरकार, प्रदेश सरकारले कम्तीमा पालिका तहमा कम्तीमा एक एक जना मनोपरामर्शकर्ताको पद सृजना गर्ने र त्यहाँबाट निरन्तर यो सेवा उपलब्ध गराइदिने भन्ने हो ।

त्यसो गर्‍यो भने वैदेशिक रोजगारदेखि घरेलु हिंसासम्मको केसमा पनि यो सेवा काम लाग्छ । त्यस कारण अब सरकारकै नीति रणनीतिले भने अनुसारको पद पालिकाहरूमा सृजना गरेर त्यो अनुसारको तालिम दिने संस्थाहरूको पनि क्षमता अभिवृद्धि गरी देशैभरि यो सेवा सञ्चालन गर्न जरुरी छ ।

अहिले कै कुरा गर्ने हो भने पनि सामी कार्यक्रम लागू भएका र लागू नभएका ठाउँहरूमा एकदमै फरक छ । ३८ जिल्लामा पनि ४ वटा पालिकामा यो कार्यक्रम छ अरू पालिकामा छैन । अहिले यो कार्यक्रम भइरहेको ठाउँको परिवर्तन देखेर कतिपय पालिकाले आफ्नै बजेटमा मनोपरामर्शकर्ताहरुलाई तालिम दिनुहोस् हामी छनौट गर्छौ, हामी नै तलब दिन्छौँ भनेर पनि सुरु गरेका छन् ।

त्यस कारण अब सरकारले नागरिकलाई सेवा दिने हो । नागरिक पालिकामै हुन्छन् । अब सबै पालिकाहरूले आफ्ना नागरिकलाई यो सेवा दिन सक्दा धेरै राम्रो हुन्छ । अहिले आत्महत्या दर यति बढेको छ । आत्महत्या दर कम गर्नका लागि पनि यो मनोपरामर्श सेवा एकदमै आवश्यक कुरा हो । मानसिक स्वास्थ्यको अवस्था भयावह नै छ । यो अवस्थाको निम्ति पनि मनोपरामर्श सेवाको महत्त्व र आवश्यकता बढी छ ।

सामी कार्यक्रम भएको ठाउँमा परामर्शकर्ताहरुरुले वैदेशिक रोजगारीमा गएकाहरूलाई मात्र सेवा दिनुहुन्न । पालिकाले रिफर गर्दा अन्य कारणले मानसिक समस्या भोगेकाहरूलाई पनि परामर्श सेवा दिइरहनुभएको छ । तर यो विषय राम्रो सरकारी नेतृत्वमा भने कम प्राथमिकतामा पर्छ । तर केही हुँदै नभएको भने होइन ।

अहिले स्वास्थ्य मन्त्रालयको चिफ नै मानसिक रोगको विशेषज्ञ हुनुहुन्छ । उहाँकै पालामा आएर मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय रणनीति आएको हो । तल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई समेत तालिमका स्ट्याण्डर प्याकेजहरू बनेका छन् ।

निःशुल्क औषधी भित्र १२ वटा मानसिक रोगको औषधी पनि परेका छन् । स्वास्थ्यकर्मीलाई तालिमहरू बढाउँदै गएको छ । यो दुई तीन वर्षको अवधिमा मनोपरामर्श सेवा र मानसिक स्वास्थ्य सेवामा पहिला हुँदै नभएको अवस्थाबाट थुप्रै कुराहरू भएको छ । तर सबैभन्दा ठूलो समस्या भनेको काम गर्ने जनशक्तिको पद नै सृजना भएको छैन । 

यो सेवालाई विस्तार गर्ने हो भने प्रदेश अस्पतालमै त्यही खालको विशेषज्ञहरू राख्न पर्छ । पालिकाबाट रिफर भएका अलिकति जटिल केशहरूमा उहाँहरूले सेवा दिने हो । स्वास्थ्यकर्मीलाई मानसिक रोगको उपचार गर्ने क्षमताको तालिम, औषधिको उपलब्धता लगायत सबै पाटोमा गएर सरकारले अहिले बजेट झन् काटिदिएको छ । नयाँ नियुक्ति छैन ।

अहिले भइरहेका मनोपरामर्शकर्ताहरु पनि सामी कार्यक्रम सकिएको दिन सरकारले राख्ला या नराख्ला भन्ने शङ्का छ । त्यस कारण सरकारले नागरिकको स्वास्थ्य सेवाका लागि बजेटमा सम्झौता नगरेको भए असाध्यै राम्रो हुन्थ्यो । अनावश्यक ठाउँमा बजेट राखिन्छ तर नागरिकको स्वास्थ्यजस्तो कुरामा बजेटहरू कटौती हुन्छ । 

संङघीय सरकारले नै सबै पालिकामा मनोपरामर्शकर्ताको दरबन्दी सृजना गर भनेर स्वास्थ्य मन्त्रालयले मन्त्रीपरिषद्मा लगेर निर्णय गर्ने हो भने त दरबन्दी सृजना गर्न गाह्रो छैन । तर यहाँ त सरकारले दरबन्दी सृजनालाई भारको रूपमा हेर्ने गरेको छ ।

यस्ता विषयमा वकालत धेरै भएको छ । तर राजनीतिक इच्छा शक्ति मानसिक स्वास्थ्यप्रति निकै कमजोर छ । कोरोनाको बेलामा सबैभन्दा धेरै मानसिक स्वास्थ्यमा काम गर्छौँ भनेर सरकार लागेको थियो । भूकम्पको बेलामा पनि मानसिक स्वास्थ्यको कुरा निकै भयो ।

नेपालमा मानसिक स्वास्थ्य र मनोपरामर्शको कुरा असाध्यै माग चाहिँ छ । तर कुरा जब कुनै विपत्ति आयो तब तब मात्र हुन्छ । तर त्यो विपत्ति आएसी सोच्नु भनेकै गलत हो नि त । विपत्ति आउनुभन्दा पहिला नै तयार भएर, आत्महत्या गर्नु पर्ने अवस्था नआउने अवस्था सृजना गरेर, सेवाको हाम्रो सिस्टमलाई बलियो बनाएर जाने हो । हामी तयार अवस्थामा छौँ भने त जस्तोसुकै अवस्था आए पनि त्यसलाई ट्याकल गर्न सकिन्छ ।

संङघीय सरकारले नै सबै पालिकामा मनोपरामर्शकर्ताको दरबन्दी सृजना गर भनेर स्वास्थ्य मन्त्रालयले मन्त्रीपरिषदमा लगेर निर्णय गर्ने हो भने त दरबन्दी सृजना गर्न गाह्रो छैन । तर यहाँ त सरकारले दरबन्दी सृजनालाई भारको रूपमा हेर्ने गरेको छ ।

तर यदि सरकाले चाहने हो भने यी सबै कुरा गर्न गाह्रो छैन । एक दुई वर्षमा मानसिक स्वास्थ्य सेवालाई राम्रो बनाएर लग्न सकिन्छ । तर सबैभन्दा ठूलो चुनौती भनेकै राजनीतिक इच्छाशक्ति कमजोर हुनु हो ।

(डा. महतसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख १४, २०८१

डा. पशुपति महत

महत चिकित्सा मनोविद हुनुहुन्छ ।

2 Comments

  • Chitra Kc

    July 21, 2023, 5:21 a.m.

    बिदेशमा हुनेले यी सेवाको लागि कसरी गर्नुपर्ने हुन्छ ???

  •  0 Reply
  • स‌ङ्गित गुरुङ

    July 19, 2023, 8:39 p.m.

    यस्ता सम्बेदनशिल समाचार सम्बन्धित निकायसम्म पुग्न र मनन् गनुृ आवश्यक ६ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया