गाउँघरमा बाँदर आतंक, शहरमा महंगीको मार, अनि विदेश नगएर कहाँ जानु सरकार ?

 साउन ५, २०८० शुक्रबार १७:२८:२० | नारायण कोइराला
unn.prixa.net

अहिले गाउँघरतिरको पहिला जस्तो कष्टकर जीवन बिताउन बाध्य हुनुपर्ने अवस्था छैन । धेरैजसो गाउँ शहरसँग जोडिएका छन् । स्वास्थ्य संस्थादेखि सुविधा सम्पन्न बाटोघाटो पनि पुगेको छ । घरका आँगनमै पानीको धारा देख्न सकिन्छ । विद्यालयका भवन पनि राम्रै छन् । तर यति आधारभूत सुविधा भए पनि अचेल गाउँघर सुनसान देखिन थालेका छन् । ससाना केटाकेटी र युवाभन्दा वृद्धवृद्धा धेरै देखिन्छन् । उनीहरुका छोरानाति कोही पढ्न त कोही कमाउन गएका छन् । कोही गाउँबाट शहर गएका छन् भने कोही देशबाट परदेश गएका छन् ।

पहिले गाउँघरमा सहकार्य हुन्थ्यो । अर्म पर्म चल्थ्यो । जीउँदाको जन्ति र मर्दाको मलामी भनेझैँ गाउँलेहरु साथ भइरहन्थे । एकले अर्काको काममा सघाउँथे । तर अहिले सबैको आ-आफ्नै व्यस्तता छ । पहिलेको जस्तो अवस्था छैन । युवाहरुले गाउँ छोडीसके । अहिले त गाउँमा भीडभाड हुन कुनै ठूलो चाडपर्व नै कुर्नुपर्छ । गाउँमा केटाकेटीहरू रमाएको हेर्न पनि शहरका विद्यालयमा छुट्टी हुनु पर्ने अवस्था छ । गाउँघरमा खेतमा काम गर्ने मान्छे भेटाउन गाह्रो छ । समस्यामा हात देउ भन्नको लागि मान्छे छैनन् । युवाहरु सबै पलायन भइरहेका छन् ।

देशबाट ठूलो जनशक्ति वैदेशिक रोजगारीमा जाने सिलसिला बढ्दो अवस्थामा छ । यसरी देशबाट जनशक्ति विदेशतिर पलायन हुनुमा धेरै कारणहरू छन् । तिमध्ये बाँदर आतंक पनि एक हो । हुन त अहिले गाउँमा मात्र होइन शहरमा पनि बाँदर आतंकको कमी छैन । गाउँ र शहरको तुलना गर्ने हो भने बाँदर आतंक गाउँमा नै बढी छ । गाउँमा खेतीपाती हुने हुँदा खानाको खोजीमा हिँड्ने बाँदरको हुल गाउँमा समस्याको जड बनेको छ । खेतीपातीमा मात्र होइन मान्छेलाई नै घाइते बनाएको समाचार पनि आएका छन् । नेपालमा बाँदर रोकथाम गर्ने कुनै नियम नै नहुँदा बाँदर आतंक रोक्न असम्भव नै देखिन्छ । की गाउँ छोड, कि बाँदर मार भन्ने अवस्था आएको गाउँघरमा सुन्न पाइन्छ । सरकारको नीति भने के हो ? अस्पष्ट नै देखिन्छ ।

गाउँमा बाँदर आतंकपछि शहर पसेका युवापिँढीको लागि शहरमा जीवन धान्न पनि त्यति सजिलो कहाँ छ र ? गाउँमा बसेका बुढा आमाबुवाको खर्च, शहरमा घरभाडामा बसेका बालबच्चाको पढाइ कसरी धान्नु यो महंगीको मारमा । समस्या परेपछि विकल्प पनि खोज्नुपर्ने नै भयो । शहरको महँगीसँग लड्ने विकल्प के त ? देशको माया गरेर मात्र पेट त भरिन्न । बालबच्चाको पनि भविष्य हेर्नु नै पर्‍याे । यस्तो अवस्थामा अहिलेको विकल्प भनेकै वैदेशिक रोजगारी हो । यसको लागि जस्तोसुकै अवस्था पनि झेल्न युवाशक्ति बाध्य छन् । 

नियम कानुन र कागजी कुरा जे भए पनि मनको कुरा मनमा नै बाँधेर गाउँको माया बाँदर आतंकलाई सुम्पिँदै, शहरको महँगीसँग लड्न सक्ने अवस्था नभएपछि के गर्ने सरकार ? विदेश नजाऔ, रेमिटेन्स चाहिँ पठाऊ भन्छौ । यहि कुरा बुझेर भोकै मर्नुभन्दा विदेश लाग्ने यही त विकल्प रह्यो होइन र सरकार ?

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया