नेपाल र मलेसियाबीच श्रम सम्झौता : मलेसियामा कार्यरत नेपालीले किरिया बिदा समेत पाउने

 कात्तिक १२, २०७५ सोमबार १४:२:१० | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियामा काम गर्ने नेपालीले अबदेखि किरिया बिदा पाउने भएका छन् । परिवारका सदस्य (बुबाआमा, श्रीमान् वा श्रीमती, छोराछोरी)को मृत्यु भएमा १५ दिनका लागि नेपाली कामदार स्वदेश फर्किन पाउने भएका छन् ।

यसअघि नेपाली कामदार आफन्तको मृत्यु हुँदा पनि नेपाल फर्कन पाउँदैनथे । उनीहरुले छुट्टि पाउने नपाउने निधो रोजगारदाताको तजबिजका आधारमा हुन्थ्यो । अब देखि भने रोजगारदाताले अनिवार्य रुपमा किरिया बिदा दिनु पर्ने छ ।

मलेसिया र नेपालबीच सोमबार भएको श्रम सम्बन्धी समझदारी पत्र (एमओयू)मा किरिया बिदाबारे उल्लेख छ ।  श्रम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब नेपाली कामदार शुन्य लागतमा मलेसिया जान पाउने छन् ।

विभिन्न बहानामा नेपाली कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि कामदार पठाउन रोकेपछि नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको हो । 
श्रम सम्झौतामा सस्ताक्षर गर्न मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान आइतबार नेपाल आउनु भएको थियो ।

सोमबार काठमाडौंको होटल हायातमा आयोजित एक समारोहमा मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरान र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सन् २००२ देखि कामदार लैजान थालेको मलेसिया र नेपालबीच पहिलो पटक श्रम सम्झौता भएको हो ।

 एमओयूमा समेटिएका विषय यस्ता छन् 

मलेसिया जाने नेपाली कामदारले आउँदा–जाँदा हुने दोहोरो हवाई खर्च रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । 

कामदार कार्यस्थलमा हुने दुर्घटना बीमा र स्वास्थ्य बीमा पनि मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हक पनि लागू हुने छ । 

त्यसैगरी मलेसियामा अबदेखि नेपाली कामदारले लेवी तिर्न नपर्ने व्यवस्था पनि गरिएको छ । मलेसिया जाँदा स्वास्थ्य परीक्षण लगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्नुपर्नेछ ।

रोजगारदाता कम्पनीले हरेक महिना ७ तारिख बैंक मार्फत तलब भुक्तानी गराइसक्नुपर्ने पनि उल्लेख गरिएको छ ।

कामदार विमानस्थल पुगेको ६ घन्टाभित्र कम्पनीले गन्तव्य स्थलमा लैजानुपर्ने र महिला कामदारको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।

यस्तै कम्पनी बन्द भएमा वा रोजगारदाताले कुनै दुव्र्यवहार गरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार पनि एमओयू मार्फत सुनिश्चित गरिएको छ । यसअघि तीन वर्ष रहेको करार अवधि भने दुई वर्षको हुने व्यवस्था गरिएको छ । कामदारले पासपोर्ट आफै राख्न पाउनेछन् । 

करार अवधि सकिएर स्वदेश फर्कंदा कम्पनीले नै हवाई टिकट उपलब्ध गराउनुपर्नेछ । समझदारी कार्यान्वयनमा ल्याउन संयुक्त कार्यदल पनि गठन गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया