टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान

 चैत २८, २०८१ बिहीबार १२:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

हङकङमा चलिरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत कुवेतसँगको खेलमा दीपेन्द्रले सबैभन्दा धेरै इनिङ्स विना ‘डक’ अर्थात् शून्यमा आउट नहुने कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले अहिलेसम्म ७६ खेल खेल्दा लगातार ६६ इनिङ्समा डक आउट भएका छैनन् । दीपेन्द्रभन्दा पछि वेस्ट इन्डिजका मार्लाेन स्याम्युल्स छन् । मार्लाेन लगातार ६५ इनिङ्समा डक आउट भएका छैनन् । नेपालले कुवेतलाई ६ विकेटले हरायो ।

यसअघि दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे ९ बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् । यस्तै दीपेन्द्र एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीमध्ये एक हुन् ।

कुवेतले दिएको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ८१, आसिफ शेखले ५३, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । हङकङका यासिन पटेलले २ विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै धेरै रनको लक्ष्य भेट्याएको हो । यसअघि सन् २०२३ मा नेपालले मलेसियासँगको खेलमा १ सय ६६ रनको लक्ष्य पूरा गरेको थियो ।

यो खेलमा कुशल र आसिफले पहिलो विकेटका लागि १ सय २७ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि सन् २०२१ मा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले १ सय १६ रनको ओपनिङ साझेदारी गरेको थियो ।

यसअघि मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनायो । कुवेतका क्लिन्टो अन्टोले सबैभन्दा धेरै ४१ रन बनाए । नेपालका सोमपाल कामीले ३, नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १/१ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ । लिगको शीर्ष दुई टोलीले आइतवार फाइनल खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया