कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो : आङ्गिक क्याम्पसमा छुट्याइएको सिट सङ्ख्याभन्दा विद्यार्थी कम

 साउन ७, २०८० आइतबार ७:५९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आएपनि विद्यार्थीको आकर्षण घट्दै गएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आङ्गिक क्याम्पसहरूमा छुट्याइएको सिटमा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. पुण्य रेग्मीले कृषि क्षेत्रमा विद्यार्थीको आकर्षण कम हुनु गम्भीर विषय रहेको बताउनुभयो ।

विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक डा. ईश्वरी लौडारीका अनुसार क्याम्पसमा आवश्यक सिटभन्दा पाँच सय ८४ विद्यार्थी कमी रहेका छन् । 

उहाँले भन्नुभयो, ‘विगतमा प्रवेश परीक्षा दिने विद्यार्थीको चाप थाम्न मुस्किल हुन्थ्यो । अहिले विद्यार्थी नभएर कोटासमेत पूरा भएको छैन ।’

नेपालमा बिएससी एजी पढाइ हुने क्याम्पस १६ वटा छन् । त्यसमा नौ सरकारी र सातवटा निजी क्याम्पस छन् । तर सबै क्याम्पसमा कोटा खाली छ ।

कृषि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १६ क्याम्पसमा नौ सय ३४ विद्यार्थीको कोटा छ ।

त्यसमध्ये सरकारी क्याम्पसमा पाँच सय ५४ र निजी क्याम्पसमा तीन सय ५० रहेको छ । तर अहिले तीन सय ५० विद्यार्थीले मात्र अध्ययन गरिरहेका छन् ।

नवलपरासीको हिमछाया क्याम्पसमा स्नातक तहको कृषि र वन विषयको पठनपाठन हुन्छ । यसवर्ष कृषिमा विद्यार्थी नै भर्ना भएनन् ।

दैलेखको दुल्लुमा स्नातक तहको पहिलो वर्षमा कृषि पढ्ने विद्यार्थीको सङ्ख्या शून्य छ । त्यस्तै कास्कीको पुरन्चौरमा रहेको कृषि क्याम्पसमा ४८ जनाले मात्र पढेका छन् ।

५४ सिट सङ्ख्या रहेको महोत्तरीको बर्दिबासमा २२ जनामात्र विद्यार्थी छन् । धनकुटा र कैलालीमा ३२ र ३१ जना विद्यार्थीले पढिरहेका छन् ।

४९ सिट सङ्ख्या रहेको खजुरामा २९ र रोल्पामा २१ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये पनि बीचमै छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।

वीरेन्द्रनगर, ललितपुर, नवलपरासी, झापा, सुनसरी, बाँके र नवलपुरमा रहेका सातवटा क्याम्पसले कृषि पढाउनका लागि सम्बन्धन प्राप्त गरेका छन् ।

यी क्याम्पसको सिट सङ्ख्या तीन सय ५० थियो । तर अहिले विद्यार्थीको सङ्ख्या शून्य रहेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा हुने राजनीतिक बेथिति, विदेश मोहलगायतका कारणले पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको कृषि विज्ञहरूले बताएका छन् ।

धेरै विद्यार्थी अध्ययन गर्न विदेश जाने गरेको विश्वविद्यालयका निर्देशक डा. ऋषिराम कट्टेल बताउनुहुन्छ ।

उहाँले विद्यार्थी भर्ना गर्न र टिकाउनका लागि पढ्दै कमाउँदै गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

विश्वविद्यालयका कृषि सङ्कायका डिन प्राडा अर्जुन श्रेष्ठ देशैभरि स्नातक पढ्ने विद्यार्थीको चाप घट्दै गएको बताउनुहुन्छ ।

यद्यपि कृषिमा विद्यार्थीको आकर्षण बढाउने खालका सुधारका योजना विश्वविद्यालयले बनाइरहेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prabhansh yadav

    July 23, 2023, 11:36 a.m.

    नेपाल सरकार ले कृषि मा लगानी गर्दै न मेरो कृषि पढ्ने इकछा छ तर पछि रोजगारी पाउअदैन

  •  0 Reply

तपाईको प्रतिक्रिया