च्याउ विषालु छ कि छैन भनेर कसरी थाहा पाउने ?

 साउन १०, २०८० बुधबार १०:३६:३५ | वशिष्ठ आचार्य
unn.prixa.net

विषालु च्याउ खाएर बिरामी पर्ने घटना बढ्न थालेको छ । यो घटना सहर बजारमा भन्दा दुर्गम ठाउँहरुमा धेरै हुने गरेको छ । विषालु च्याउ खाएपछि बेलैमा उपचार नपाए बिरामीको ज्यान समेत जान सक्छ । 

कस्तो च्याउ विषालु हुन्छ ?

प्रायःजसो जङ्गलमा पाइने च्याउ विषालु र हानिकारक हुन सक्छन् । नेपालमा पाइने साढे पाँच सय प्रजातिका जङ्गली च्याउमध्ये ५६ प्रजातिका च्याउ विषालु रहेको तथ्याङ्क छ । केही जङ्गली च्याउ खान मिल्ने पनि हुन्छन् । तर केही जङ्गली च्याउ विषाक्त प्रजातिका च्याउसँग मिल्दोजुल्दो हुन्छन् । विष भएका र नभएका जङ्गली च्याउ उस्तै देखिने भएकाले पहिचान गर्न गाह्रो हुन्छ । विषाक्त च्याउ हो/होइन भनेर थाहा पाउन विज्ञलाई पनि गाह्रो हुन्छ ।

च्याउको विषाक्तता भौगोलिक स्थान र वातावरणीय आधारमा भिन्न हुन सक्छ । एउटा क्षेत्रमा खान हुने च्याउ अर्को क्षेत्रमा विषाक्त हुन सक्छ । कुनै बेला विष नभएको च्याउमा पनि उमेर, अवस्था, र स्थान अनुसार परिवर्तन भएर विषालु गुण थपिन सक्छन् ।

विषालु च्याउबाट चोप निस्किन्छ । हेर्दा गाढा रङ्गीन हुन्छ । विषालु च्याउमा घण्टीको आकार वा तराजू जस्तो समतल टोपी हुन्छ । च्याउको तल्लो भागमा सेतो, गुलाबी, वा टोपीसँग विपरीत रङ हुने गिलाे हुन्छ । विषालु च्याउ पकाउने बेलामा प्याजसँग मिसाउँदा वा चाँदीका भाँडाले छुँदा कालो भएर आउँछ भनेको पनि सुनिन्छ । केही विषालु च्याउमा यी विशेषता हुन पनि सक्ला, तर सबै विषालु च्याउमा लागू हुँदैन ।

कुनै जङ्गली च्याउलाई किराले खाइरहेका छन् भने त्यो विषालु च्याउ होइन । केही जङ्गली च्याउ काट्दा रङ परिवर्तन भयो भने त्यो विषालु हो भनेर बुझ्ने पनि गरिन्छ । यी केवल सामान्य दिशानिर्देशहरू हुन् र धेरै अपवादहरू ।

विषालु च्याउ खाँदा के हुन्छ ?

कतिपय जङ्गली च्याउ खाँदा स्वादिष्ट भए पनि अन्य धेरै विषाक्त हुन्छन् । जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने वा मृत्यु समेत हुन सक्छ ।

विषालु च्याउ खाएको केही सममदेखि २४ घण्टा र एक हप्तासम्म पनि यसको असर देखिन सक्छ । च्याउको विषाक्तताका लक्षणहरू च्याउमा रहेको विष कस्तो हो भन्ने कुरामा भर पर्छ । विषाक्त च्याउको सेवन गरेपछिको केही घण्टा वा केही दिन भित्र लक्षण देखिन सक्छ ।

विषालु च्याउ खाएपछि पेटको तल्लो भाग दुख्ने, चक्कर आउने, बेहोस हुने, छटपटी हुने, आँखा वरिपरि अँध्यारो भएको महसुस हुने, कतिलाई पखाला लाग्ने र  बान्ता हुने जस्ता लक्षण पनि देखिन्छन् ।

च्याउमा विषको मात्रा धेरै भए कलेजो र मृगौला र अरु अङ्गहरुमा पनि असर पर्न सक्छ । विषाक्त च्याउको सेवनपछि मुटुको धड्कन अनियमित हुने, रक्तचाप घट्ने, सास फेर्न गाह्रो हुने वा श्वासप्रश्वास रोकिने, अत्यधिक पसिना आउने, र्‍याल आउने, शरीर कमजोर हुने, दृष्टि कमजोर बन्दै जाने लगायतका जटिल समस्या देखिन सक्छ ।

कस्तो च्याउ खाने ?

च्याउ खाँदा स्वादिलो हुनुका साथै यसमा शरीरलाई चाहिने भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्वहरु पनि हुन्छन् । च्याउ कम क्यालोरी, फ्याट रहित हुन्छन् ।

किसानले व्यवसायिक तरिकाले उत्पादन गरेर बजारमा बेच्न राखिएको च्याउ किनेर खान सुरक्षित हुन्छ । तर वर्षाको बेला बजारमा केही जङ्गली च्याउ पनि बेच्न राखिएको हुन्छ । त्यसैले बजारमा बेच्न राखिएका च्याउ किन्दा सधैँ ध्यान दिनु पर्छ । आफूलाई शङ्का लागेको च्याउ नकिन्ने वा कस्तो च्याउ हो थाहा नभए व्यापारिलाई सोधपुछ गरेर मात्रै च्याउ किन्नु पर्छ ।

कन्ने अथवा पाते च्याउ, गोब्रे च्याउ, सिताके च्याउ, मिल्की मसरुम लगायतका च्याउको नेपालमा धेरै व्यवसायिक खेती गरिन्छ । यी च्याउलाई सजिलै चिन्न सकिन्छ ।

विषाक्त च्याउ खाएको शङ्का लागे वा लक्षण देखिए के गर्ने ?

विषालु च्याउ खाएपछि लक्षण देखियो भने बिरामीलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । समय खेर नफाली तुरुन्तै स्वास्थ्य संस्था लैजानुपर्छ । केही विषालु च्याउको असर ढिलो देखिन सक्छ, त्यसैले विषालु च्याउ खाएको शङ्का लागे जति सक्दो चाढो उपचारको लागि स्वास्थ्य संस्था जानु पर्छ ।

घरमै च्याउको विषाक्तताको उपचार गर्ने प्रयास गर्नु हुँदैन । विषाक्त पदार्थ हटाउन बिरामीलाई बान्ता गराउनेतिर लाग्नु हुँदैन । च्याउको विषाक्तताको अवस्थामा, बान्ता प्रभावकारी नहुन सक्छ र थप जटिलताहरू निम्त्याउन सक्छ । डाक्टरको सल्लाहबिना कुनै पनि खानेकुरा वा पेय पदार्थको सेवन गर्न हुँदैन । 

(राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका च्याउ विशेषज्ञ आचार्यसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वशिष्ठ आचार्य

आचार्य राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका च्याउ विशेषज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया