विमानस्थलमा रोजगारी खोज्दै बिदेसिने हजारौँ श्रमिकको लाइन, सहरमा देश फर्किने सयको विज्ञापन

 साउन १८, २०८० बिहिबार १२:११:२९ | नारायण कोइराला
unn.prixa.net

हाम्रो देशमा हरेक दिन जसो कुनै न कुनै विषय र समस्याले चर्चा पाउने गर्छ ।  त्योमध्ये सधैँ चर्चामा रहने विषय बेरोजगारी वा वैदेशिक रोजगारी बनेको छ ।

कुनै बेला समातेर काम गर्न आइज भन्दा नगएको कथा हजुरबुबाले सुनाउने गर्नुहुन्थ्यो । अहिले भने काम पाउन कडा मेहनत गरेर मात्र पनि हुँदैन । शक्ति र पहुँचको कुरो आउँछ । चुनावको बेलामा त बेरोजगारी प्रमुख मुद्दा नै हुने गरेको छ ।

अहिलेसम्म परदेशी श्रमिकलाई मतदान गर्ने व्यवस्था मिलाउन नसके पनि श्रमिकको चर्चा राम्रैसँग गरिन्छ । मीठा सपना बाँडिन्छ । तर जब चुनाव सकिन्छ यस्ता विषयहरू सेलाउँदै जान्छन् । महँगी बढ्छ । बेरोजगारी झन् झन् बढ्छ अनि युवाहरू फेरि विदेश ताक्न बाध्य हुन्छन् । 

यो सबै कुरा पुष्टि गर्ने प्रमाण पनि वैदेशिक रोजगारीमा जानेहरूको तथ्याङ्कले देखाइसकेको छ । यसको मुख्य कारण देशका शासकहरू नै हुन् । चुनावमा जे सुकै भने पनि, देशमै रोजगारी सृजना गर्ने नीति लिए पनि चुनाव सकिएपछि त्यस्ता नीति गाउँघरसम्म पुग्दैनन् ।  जताततै भ्रष्टाचार मात्र छ ।

हुन त नकारात्मक सोचले आफैलाई कमजोर बनाउँछ भनिन्छ । सकारात्मक सोच लिएर काम गर्दै जाँदा यहाँ भोकै मर्न पनि सकिन्छ । 

अहिलेको अवस्थामा देशबाट विदेश जानेको ठूलो जनसङ्ख्या त छ नै । विदेशबाट सीप लिएर देश फर्किएकाहरूको सङ्ख्या पनि ठूलो छ । उमेर ढलेसँगै श्रमिकलाई कामबाट अचानक नै निकालेर नयाँ जनशक्ति भित्र्याउने परिपाटीले पनि श्रमिकलाई मार परिरहेको छ ।

बिना सूचना नै श्रमिकलाई कामबाट बर्खास्त गरी नेपाल पठाएको समाचार पनि थुप्रै सुन्न र पढ्न पाइन्छ । नेपाल सरकारको उदासीन नीतिले श्रमिकको हकहितको कुरो त कता हो कता एउटा राहदानी नवीकरण गर्न पनि विदेशमा कति गाह्रो छ भन्ने कुरो परेकालाई मात्र थाहा छ । एक महिना हुने कमाइ खर्च गर्नु पर्ने अवस्था छ । 

यसरी हजारौँ सङ्ख्यामा विदेश जानेको लाइन विमानस्थलमा देखिने अवस्थाको विज्ञापन गरिरहनु पर्ने देखिँदैन । यो अवस्थालाई अहिले नै रोक्छु भनेर रोकिने पनि छैन ।   देशमा कुनै भविष्य नदेखेपछि विकल्प के त ? जाने त विदेशै हो । पढ्न होस् कि काम गर्न भन्ने अवस्थामा अहिले एउटा नयाँ कुराले राम्रै चर्चा पाएको छ । त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीले खुलाएको रोजगारीको विज्ञापन ।

विदेशको अनुभव र त्यहाँको बसाइँको आधार मानेर भन्ने हो भने अहिले रास्वपा आएको सय जनालाई रोजगारी भन्ने नीति यथार्थ भन्दा बढी पार्टीको विज्ञापन जस्तो देखिन्छ । यो भन्नुको केही कारण पनि छन् ।

विदेशमा काम गरिरहेका जो कोही पनि कमै छोडेर आउने अवस्था देखिँदैन । यस्ता आश्वासन धेरै पल्ट देखिएको छ । यसलाई एउटा बेलुनमा उड्दै गरेको सपना भन्न नमिले पनि बेलुन कति बेला फुटेर लक्ष्य पोखिन्छ निश्चित गर्न नसकिने अवस्था छ । 

यसलाई सकारात्मक रूपमा लिनुभन्दा पहिला अरू कुरा पनि आउँछन् । । कोरोनाकालमा विदेशबाट फर्केकाहरू अहिले फेरि विदेश नै जाने सोचमा छन् । त्यो त राहदानी जारी गर्ने सरकारी निकायमा बढेको भिड र विमानस्थलमा हरेक दिन देखिने दृश्यले पनि प्रस्ट पार्छ ।

यिनीहरूलाई देशमै रोक्न र रोजगार दिन कोसिस गर्ने हो कि विदेश गएकाहरूलाई फ्री टिकटमा नेपाल ल्याउने भनेको सुन्दा अचम्म लाग्छ । 

हातमा सीप भएर पनि बेरोजगार जमातलाई देशमै काम दिने अवस्था सिर्जना गर्नु त परको कुरा विदेशमा दुई चार पैसा भए पनि कमाइरहेकालाई यहाँ ल्याउने रे । अरु काम सबै राम्रा होलान् । त्यसलाई सपोर्ट र समर्थन पनि छ । तर पहिला स्वदेशमा हुनेलाई विदेश जानबाट रोक्ने प्रयास गर्नुहोस् ।

जबसम्म यहाँ विकल्प केही नदेखेर विदेशको बाटो रोज्नेहरूलाई रोक्न सकिँदैन तबसम्म विदेश गएकाहरूलाई देशमा काम दिन्छु आइज भन्नु उचित हुन्छ जस्तो लाग्दैन । यो त श्रमिकका लागि धोका नै हुन्छ । किनकि आज मिलेको २० हजारको जागिर सय दिन पछि पनि भइनै राख्छ भन्ने सुनिश्चितता कसले गर्छ । नेपालमा मन परेको दिन काममा लगाउने र मन नपरेको दिन निकाल्ने प्रवृत्ति छ । 

क्षमता भए पनि त्यस अनुसारको जागिर खान नेताका आफ्नो मानिस हुन पर्छ । त्यस कारण सबैभन्दा पहिला त यस्ता पर्खालहरू नीतिगत रूपमा भत्काउन पहल सुरु गर्न पर्छ । अनि मात्र दैनिक रूपमा देश छाड्ने हजारौँ श्रमिकलाई रोक्न सकिन्छ । देश राम्रो भयो भने जागिर नै दिन पर्दैन ।

केही गर्छु भन्दा हातमा हात थाम्ने सरकार बनाइदिनुहोस् । नीति बनाइदिनुहोस् । लड्न खोज्दा सरकार छ भन्ने अनुभूति गराइदिनुहोस् । त्यसपछि सयको विज्ञापन गर्नै पर्दैन । देशको माया छाती भरी बोकेर बसेका परदेशी आफैँ देश फर्किने छन् । त्यसमा दुई मत छैन । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया