लायन एयर दुर्घटना : कसरी दुर्घटनामा पर्छ ‘ब्राण्ड न्यू’ जहाज ?

 कात्तिक १३, २०७५ मंगलबार १३:३२:४७ | एजेन्सी
unn.prixa.net

सोमबार लायन एयरको जेटी ६१० फ्लाइट नम्बरको जहाज इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको केही मिनेटमै समुन्द्रमा खस्यो । 

बोइङ ७३७ म्याक्स ८ को एकदमै नयाँ (ब्राण्ड न्यू) जहाज दुर्घटनाग्रस्त भएको यो प्रमुख घटना हो । त्यसैले पनि यसको चर्चा परिचर्चा भैरहेको छ । दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन, के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत अनुसन्धान भैरहेको छ । 

सामान्तयाः विमान दुर्घटनामा दुईवटा प्रमुख कारण हुन्छन् । पहिलो प्राविधिक कारण, दोस्रो मानवीय त्रुटि । तर एकदमै नयाँ जहाज दुर्घटनामा पर्नुको कारण के होला त ?

बोइङ ७३७ म्याक्स ८ सन् २०१७ बाट मात्रै व्यापारिक प्रयोजनमा आएका थिए । गएको जुलाईमा मात्रै लायन एयरले यो जहाज इन्डोनेसियामा उडाउन पाउँदै ‘निकै गर्व’ महसुस भएको बताएको थियो । सोमबार दुर्घटनामा परेको जहाज गएको अगस्ट १५ बाट मात्रै सञ्चालनमा आएको थियो । 

इन्डोनेसियाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी कमिसनका प्रमुख सोरजान्तो जाजानोले त्यो जहाजले ८ सय घण्टा मात्रै उडान भरेको बताएका छन् । जकार्ताबाट उडान भर्नेबित्तिकै पाइलटले ट्राफिक कन्ट्रोलमा फर्किनका लागि अनुमति मागेको बताइएको छ । 

पाइलटले फर्किन अनुमति मागेका कारण पनि जहाजमै केही प्राविधिक गडबढी भयो कि भन्ने बहस सिर्जना भएको छ । 

बीबीसीले बालीको डेनपसारबाट जकार्ता उडेको त्यो जहाजमा जहाजको गति नाप्ने जहाजको यन्त्र नै विश्वसनीय नभएको बताएको छ । पाइलटको यन्त्र र फर्स्ट अफिसरको यन्त्र फरक भएको बीबीसीले बताएको छ । 

प्राविधिक त्रुटि देखिएपछि पाइलटले फर्स्ट अफिसरलाई कन्ट्रोलिङको जिम्मा लगाएको र जकार्तामा सुरक्षित तवरले ल्याण्ड गरेको बीबीसीले जनाएको छ । 

लायन एयरले भने यो खबरलाई पुष्टि गरेको छैन । कम्पनीका प्रमुखले भने जहाजमा ‘अनस्पेसिफाइड टेक्निकल प्रोब्लम’ देखिएको हुन सक्ने बताएका छन्  । त्यही जहाज सोमबार जकार्ताबाट पंगकलका लागि उडान भरेलगत्तै दुर्घटनामा पर्यो ।  कम्पनीका प्रमुखका अनुसार लायन एयरले दुर्घटनामा परेकै मोडेलका ११ वटा जहाज जहाज सञ्चालनमा रहेका छन् । 

एभियसन एनालिस्ट गेरी सोज्याटम्यानका अनुसार पुराना जहाजमा दुर्घटना हुने सम्भावना अत्यन्तै धेरै हुन्छ तर एकदमै नयाँ जहाज पनि दुर्घटना हुने सम्भावना पनि हुन्छ । बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यदि एकदमै नयाँ जहाज छ भने पनि कहिलेकाहीँ समस्या आउन सक्छ, नियमित रुपमा प्रयोगमा आएपछि मात्रै समस्या पहिचान हुन सक्छ । पहिलो तीन महिना सञ्चालनमा आएपछि मात्रै समस्याको पहिचान हुन सक्छ ।’ दुर्घटनाग्रस्त जहाज सञ्चालनमा आएको केही हप्तापछि मात्रै तीन महिना पुग्दै थियो । 

अर्का उड्डयन विज्ञ जोन ओस्ट्रोवरले पनि नयाँ जहाजमा केही नयाँ प्राविधिक समस्या देखिन सक्ने बताएका छन् । उनले भने, ‘नयाँ जहाजले प्रायः मेन्टेनेन्स होलिडे मनाउँछन् किनकी त्यसमा सबैथोक नयाँ हुन्छ ।’

दुवै विज्ञका अनुसार लायन एयरको जेटी ६१० जहाज अहिले नै के कारणले दुर्घटनामा पर्यो भन्न नसकिने बताएका छन् । ‘मैले अहिले नै यही कारण हो भन्न सक्दिनँ’, ओस्ट्रोवरले बीबीसीसँग भने, ‘यस्तो दुर्घटनाका पछाडि विभिन्न कारण हुन सक्छ ।’

सोज्याटम्यानले पनि दुर्घटनाका पछाडि प्राविधिक कारण नै हुन सक्ने बताए पनि अहिले नै निष्कर्षमा पुग्न नहुने बताएका छन् । 

इन्डोनेसियाको असुरक्षित हवाई इतिहास रहेकाले कतिपय विज्ञले भने सोमबारको दुर्घटनामा मानवीय गल्ती पनि हुन सक्ने बताएका छन् । 

जहाज निर्माता कम्पनी बोइङले दुर्घटनाले एकदमै दुखी भएको बताउँदै अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । बोइङका अनुसार ७३७ म्याक्स सिरिज इतिहासमै छिटो बिक्री भैरहेको जहाज हो । यो मोडेलको जहाजको अहिलेसम्म ४ हजार ७ सय अर्डर आएको कम्पनीले बताएको छ ।

यो मोडेलको जहाज अर्डर गर्नेमा अमेरिकन एयरलायन्स, युनाइटेड एयरलायन्स, नर्वेजियन एयरलायन्स तथा फ्लाई दुबई रहेका छन् ।

याे पनि पढ्नुहाेस्

१८८ जना यात्रु सवार रहेको विमान समुद्रमा खस्यो

१८८ यात्रुसहित समुन्द्रमा खसेको जहाजका पाइलट भारतीय नागरिक

 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया