आज हिजोअस्तिको जस्तो अति ठूलो पानी नपर्ने तर बाढी पहिराेकाे जाेखिम कायमै

 साउन २९, २०८० सोमबार ७:७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज हिजोअस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असर कम हुँदै गएकाले हिजो अस्तिको जस्तो आज अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।  तर, मनसुन सक्रिय रहेकाले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अति ठूलो वर्षाको सम्भावना नरहे पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन मौसमिवद्को आग्रह छ ।

हिजोअस्तिकै पानीले जमिन गलिसकेको र नदीमा पानीको सतह बढिरहेकाले हल्कादेखि मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको हो । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । गएराति  डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रङ्गुन लगायत ठूला तथा साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । त्यसैगरी नारायणी नदीले  सतर्कता तह पार गरेको छ ।  बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रमा रहेकालाई आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया