परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन लागिएको हो ।
चन्द्रमासअनुसार भदौ महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष साउनशुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा.तोयराज नेपाल बताउनुहुन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । गौराको पहिलो पटक व्रत बस्नेले शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।
यस्तै, काठमाण्डौसहित सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास रहेका क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग र कतै तिलको बिरुवा पनि राखेर देविको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देविलाई भदौ कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार व्रत बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताउनुभयो । देविलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ ।
गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । दुई/तीन दिन पूजा गरिसकेपछि मङ्गलवार र शनिवार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगेर सेलाइन्छ । जुठो, सुतक परेका बेला देविलाई विसर्जन गर्नु नहुने परम्परा छ ।
देविलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । यो पर्वका लागि साउन शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ । यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ ।
भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । यसैबीच,दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने जनविश्वास रहिआएको छ ।
आज देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्ने गरिन्छ । काठमाण्डौको टुँडिखेलमा पनि आज देउडा गीत र नृत्यसहित विशेष कार्यक्रम हुन्छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।
यो पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनु भएको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।