लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा ठूलो वर्षा : बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

 भदौ ८, २०८० शुक्रबार ६:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - लमजुङ, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।

ठूलो पानी परेका क्षेत्रमा आकस्मिक बाढीको जोखिम छ । लमजुङको खुदीबजार र आसपास परेको ठूलो पानीले खुदीखोलालगायत लमजुङ भएर बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँ बिहान ९ बजेसम्म नै सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै, बेसिसहर चामे सडक खण्डमा पहिरोको उच्च जोखिम छ ।

ओखलढुङ्गामा जलसतहले सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेकाले दुधकोशी र सुनकोशी दोभानसम्मको नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ ।

कमला नदी, रानीबास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । जलसहत बढ्दो क्रममा छ । उदयपुर, सिन्धुली, धनुषा र सिरहाको तटीयक्षेत्र लगायत डुबान भइरहने होचा ठाउँहरुमा पनि आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

त्यस्तै, काठमाण्डौ उपत्यकासहित दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, इलाम र आसपास क्षेत्रमा पनि पानी परिरहेको छ । कतै ठूलो वर्षा भइरहेको छ ।

स–साना नदीमा जलसतह बढ्न सक्ने, केही ठाउँमा आकस्मिक बाढीको जोखिमका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले दिउँसोसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरू तथा कोशी प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मुग्लिन नारायणगढ सडकमा दुईतर्फी नै गाडी चलिरहेका छन् । यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया