गाउँघर फेरिए पनि परदेशीको मन फेरिएको छैन, गाउँ जति प्यारो संसारको कुनै ठाउँ लाग्दैन

 भदौ १२, २०८० मंगलबार १२:१६:४३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रमेश क्षत्री पोखरा/हाल सिसेल्स ।

अहिले परदेशमा छु । तर यो मन भने जति बेला पनि गाउँघरमै डुलिरहन्छ । केही कुन यादले सताउँछ त कहिले कुन । बेला बेला त बालापनको सम्झनाले मन नै गाँठो पर्छ । आज म त्यो बालापन सम्झिरहेको छु जति बेला स्कुलको बर्खे बिदा हुन्थ्यो ।

बर्खे बिदाको समयमा गाउँघरका केटाकेटीदेखि बुढापाकासम्म गाईबस्तु लिएर जङ्गल निस्कन्थ्यौ । मेरो गाउँ नजिकैको गुर्धुम साहुले पानी महबिरको खोलासँगै बिसाउनाको चौपारी । कहिले जोल्ठे चिलाउने त कहिले छापडाँडाको सेरोफेरो । सम्झँदा पनि मनै फुरुङ्ग हुन्छ । जहाँबाट पोखराको दृश्य छर्लङ्ग देखिन्थ्यो । त्यही दृश्य हेर्दै चौपारीमा बसेर विभिन्न खेलहरू खेलेको, साना खोलाहरू थुनेर दह बनाई पौडी खेलेको, माटोको गाडी बनाएका ती दिनहरू सम्झँदा अहिले पनि मन त्यही ठाउँमा पुग्छ । 

गाउँघरका सबैलाई सजिलै चिनिन्थ्यो । तर त्यो बेलाको परिचय आफ्नोभन्दा पनि बढी फलानाको छोरा, भतिजो आदी भनेर चिनिन्थ्यो ।  अहिले त यस्तो हुँदैन होला गाउँघरमा । जमाना अहिले फेरिएको छ । वल्लो पल्लो घरका मानिसबीच चिनजान हुँदैन । 

त्यसमाथि आजकाल त मानिस गाउँ छाडेर सहर पस्न थाले । गाउँघर नै सुनसान भएको छ । चाडबाड आउँदा अलिअलि रौनक हुन्छ । तर त्यसपछि फेरि चाडबाड सकिएसँगै सकिन्छ त्यो रमाइलो पनि । हाम्रो पालामा त दसैँ तिहारजस्ता चाडबाडमा त रौनक नै अर्कै हुन्थ्यो । बिस्तारै यस्ता सम्झना त एकादेशको कथा नै हुन्छ जस्तो छ ।

गाउँघरमा विकास हुनु, बालबालिकाले राम्रो शिक्षा र स्वास्थ्यको अवसर पाउनु त एकदमै राम्रो कुरा हो । तर कतिपय विकास त हुँदा पनि खुसी हुन नसकिने रहेछ । गाउँघर शून्य भयो । हुनेखानेहरू र अलिअलि कमाउन सक्नेहरू सहर पसे । 

नसक्नेहरू गाउँमा एक्लै परे । पहिलेजस्तो अर्मपर्म अहिले गाउँमा चल्दैन । अरू त परको कुरा मर्दा पर्दासमेत गाउँघरमा मलामी पाउन गाह्रो छ । 

हामी धेरै युवा परदेशिन बाध्य छौँ । यसरी गाउँघर र देशै छाडेर परदेश आउने हाम्रो पनि रहर होइन । तर पिर यही छ । कहिलेसम्म गाउँघरमा यस्तो अवस्था होला ।

फेरि एक मनले भन्छ एक दिन हामीलाई फेरि गाउँले बोलाउने छ । सहर पसेकाहरू फेरि गाउँ फर्किने दिन आउने छ । 

संसारको जुनसुकै कुनामा पुगे पनि परदेशीलाई त आफ्नो गाउँ नै प्यारो लाग्ने रहेछ । तर अहिले आफ्नै दाजुभाइबीचमा कोही धर्मको नाममा त कोही क्षेत्रको नाममा लडेको देख्दा मन दुख्छ । हामी सबै एकै हौं । हाम्रो देश नेपाल हो । हामी सबैको छानो एउटै हो । त्यसैले एकले अर्कालाई माया बाँडौँ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया