काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
ललितपुर - खोकना र बुङमतीका स्थानीयले आफूहरुमाथि विवेकपूर्ण न्याय गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरु काठमाडौं–निजगढ द्रुतमार्ग, बाहिरी चक्रपथ, १ सय ३२ केभि विद्युत् प्रसारण लाईन र सांस्कृतिक शहर निर्माण गर्ने सम्बन्धमा आफूहरुसँग भएको पूर्व-सहमति विपरित सरकारले बल मिच्याईं गर्ने काम गरेको भन्दै स्थानीयबासी आक्रोशित भएका हुन् ।
उनीहरुले विवेकशून्य निर्णयले आफूहरुलाई न्याय नदिने भन्दै विवेकपूर्ण निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । स्थानीयवासीले विहीबार बिहान स्थलगत अनुगमनमा पुगेको प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था समितिको टोलीसँग आफुहरुमाथि न्याय हुनेगरि निर्णय गराउन सरकारलाई निर्देशन दिन आग्रह गरे ।
उनीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधी र सांसद पम्फा भुसालले समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेर पनि पूरा नगरेकोमा दुखेसो पोखे ।
ललितपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष अम्मिराज शाक्यले आयोजनाले मुआब्जा लिने सवालमा स्थानीयलाई तर्साउने काम गरेको गुनासो गर्नुभयो । बजार मूल्य अनुसारको मुआब्जा दिनुपर्ने आफूहरुको माग सम्बोधन गर्नुको सट्टा धम्काउने काम भएको भन्दै स्थानीयले समितिका प्रतिनिधि समक्ष आक्रोश पोखे ।
ललितपुर जिल्लाका प्रदेशसभा सदस्य जीवन खड्काले आयोजनाको केन्द्रविन्दु कहाँ, कसरी राख्ने भन्ने विषय प्राविधिक पक्ष भएकाले त्यसमा विवाद गर्नु भन्दा स्थानीयको आर्थिक, सांस्कृतिक मागको सम्बोधन हुनुपर्ने तर्क गर्नुभयो ।
उहाँले विकास निर्माणको कामबाट विस्थापित हुन पुगेका स्थानीयको उचित पुनस्थापना गरिनुपर्ने बताउनुभयो ।
राज्य व्यवस्था समितिकी सदस्य पम्फा भुसालले खोकना र बुंगमतिको संरक्षण गरी संरचना बनाउने गरि भएको सहमति विपरित रातारात डोजर लगाई बलमिच्याईं गर्ने काम भएको प्रतिक्रिया दिनुभयो । उहाँले सांस्कृति महत्वका धरोहरलाई जोगाएर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने तर्क गर्नुभयो ।
समिति सभापति शशि श्रेष्ठले स्थानीयको सवालका बारेमा बैठकमा छलफल गरि निर्णय गरिने बताउनुभयो ।
खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै न्याय दिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए । स्थानीयको उजुरीमाथि छलफल गरि समितिको बुधबारको बैठकले खोकना र बुङमतीका क्षेत्र भित्रको द्रुतमार्गको स्थलगत अनुगमन गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय गौरवका आयोजना निर्माणको चौतर्फी चपेटामा परेका बुंगमति र खोकनाबासीले ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरु संकटमा पर्ने भन्दै सम्पदा जोगाएर उचित मुआब्जा दिई निर्माण कार्य गर्न माग गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।