इन्स्टाग्राममा आएको क्यानडा रोजगारीको विज्ञापनमा विश्वास गर्दा गुम्यो साढे ३४ लाख

 भदौ १९, २०८० मंगलबार १३:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सञ्जाल इन्स्टाग्राममा आएको वैदेशिक रोजगारीमा विश्वास गर्दा एक व्यक्तिले साढे ३४ लाख रुपैयाँ गुमाएका छन् ।

इन्स्टाग्राममा क्यानडमा राम्रो सुविधासहित वर्कपरमिट भिसा पाइने नक्कली विज्ञापनको विश्वासमा पर्दा ३४ लाख ५७ हजार ७१० रुपैयाँ गुमेपछि मात्रै एक व्यक्तिले आफू ठगीमा परेको पत्तो पाएको काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा क्याडनमा वर्कपरमिटसहितको रोजगारी पाइने विज्ञापन देखेपछि पीडित व्यक्तिले इनस्टाग्राम प्रयोगकर्तासँग कुराकानी गर्न सुरु गरेका थिए ।

कुराकानीकै क्रममा क्यानडामा क्यासियरको काम लगाइदिन्छु भन्दै महिनामा ५ हजार ७ सय क्यानेडियन डलर अर्थात् पाँच लाख ४५ हजार तलब हुने प्रलोभन देखाए । 

त्यसका लागि प्रक्रिया अघि बढाउन आइएलटिएसको सर्टिफिकेट, बायोडाटा, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिन भनेपछि ह्वाट्सएपमा कुराकानी सुरु भएको थियो ।

पीडित व्यक्तिले उनकै कुरामा विश्वास गरी पटक पटक ह्वाट्सएपमा कुराकानी गर्दै पैसा दिन थालेका थिए ।

क्यानडाको प्रक्रियाको लागि हेल्थ इन्सोरेन्स, सेक्युरिटी डिपोजिट, एलोकेटेड फण्ड, भिसा भेरिफिकेसन डीएचएलमार्फत कागजात पठाउन रकम तिर्नुपर्छ भन्दै  नेपालमा रहेका विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएका थिए । तर पैसा बुझाइसकेपछि सबै कुरा नक्कली रहेको पत्तो लागेको थियो ।

यसरी अनलाइनमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ का लक्ष्मण नेपाली र सप्तरीको राजविराजका महावीर प्रसाद साहलाई पक्राउ गरी ठगीको कसुरमा थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया