आन्दोलनमा रहेको नेपाल चिकित्सक सङ्घसँग वार्ता हुँदै

 भदौ ३१, २०८० आइतबार ११:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता थालेको छ ।

समस्याको समाधान  छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । अहिले सरकारी वार्ता टोली र नेपाल चिकित्सक सङ्घका पदाधिकारीबीच छलफल भइरहेको छ ।

हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोध गर्दै सङ्घले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । ओपीडी सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु उपचार सेवाबाट वञ्चित भएका छन् ।

गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । सङ्घले भने दोषी सबैलाई पक्राउ नगरेको आरोप लगाएको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया