‘पत्रकार खशोग्गीको शव टुक्रा–टुक्रा पारेर एसिडमा जलाइयो’

 कात्तिक १७, २०७५ शनिबार ६:२१:१३ | एजेन्सी
unn.prixa.net

टर्कीका वरिष्ठ अधिकारी यासिन आकतायले पत्रकार जमाल खसोग्गीको शव काटेर टुक्रा–टुक्रा पारी एसिडमा हालिएको हुनसक्ने बताएका छन् । 

अहिलेसम्म खसोग्गीको हत्याबारे केही पनि सुराकी तथा नभेटिनुको पछाडि उनको हतयापछि यस्तै घटना भएको एकमात्र तर्कपूर्ण निष्कर्ष हुने वरिष्ठ अधिकारी आकतायले बताएका छन् ।

तर एसिडमै शवको टुक्रा हालिएको फोरेन्सिक प्रमाण भने अहिलेसम्म भेटिएको छैन । टर्कीको समाचार पत्र हुर्रियतसँगको अन्तर्वार्तामा आकताय भन्छन्, ‘उनीहरुले खशोग्गीको हत्यापछि शव टुक्रा–टुक्रा पारेर एसिडमा हालिदिए किनभने उनीहरुले हत्याको प्रमाण सजिलै मेटाउन चाहन्थे ।’

त्यस्तै टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोआनले पहिलो पटक जमाल खशोग्गीको हत्यामा साउदी अरबको हात रहेको आरोप लगाएका छन् ।

उनले वाशिंगटन पोस्टमा एउटा लेखमा खशोग्गीको हत्यामा साउदीको हात भएको ठूलो आशंका उब्जेको बताएका छन् । तर उनले साउदीसँग टर्कीको राम्रो सम्बन्ध भएका बताउँदै हत्यापछि साउदी राजा सलमानको भने कुनै भूमिका नभएको स्पष्ट पारेका छन् ।

पत्रकार तथा लेखक जमाल खशोग्गीको हत्या टर्कीमा रहेको साउदी वाणिज्य दूतावासमा भएको थियो । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकासँग जमाल खशोग्गी एक ‘खतरनाक इस्लामिस्ट’ भएको बताएका थिए । उनले कथित रुपमा ह्वाइट हाउसमै फोन गरेर यस्तो जानकारी दिएका थिए । वाशिंगटन पोस्ट र न्यूयोर्क टाइम्सका अनुसार साउदी खशोग्गी बेपत्ता भएको र साउदीले उनको हत्या भएको स्वीकार गर्नुभन्दा पहिले साउदी राजकुमारले फोन गरेका थिए । तर साउदी अरबले भने यो कुराको खण्डन गर्दै आएको छ ।

साउदी नागरिक खशोग्गी अमेरिका बस्दै आएका थिए । उनी त्यहीँकाे मिडियामा काम गर्थे ।  उनी साउदी अरबको सत्तको कडा आलोचकका रुपमा परिचित थिए । 

साउदी राजकुमार माेहम्मद बिन सलमान

टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा गएको अक्टोबर २ मा उनको हत्या भएको पुष्टि भए पनि अहिलेसम्म उनको शव भेटिएको छैन । त्यसकारण पनि यो घटना अझै सहस्यमयी बन्दै गएको छ । पहिले हत्या भएको छैन भन्ने साउदीले पछि दूतावासभित्रै हत्या भएको हो भन्ने कुरा स्वीकार गर्दा कतै साउदी शाही परिवारकै त हत्यामा हात छैन भन्ने आशंका पनि उब्जिएको छ । तर साउदी राजकुमार सलमानले यो आरोपको खण्डन गर्दै खशोग्गीको हत्या हुनु साउदी अरबका सबै नागरिकका लागि दुःखको कुरा भएको बताएका छन् ।

अनुसन्धानमा अहिलेसम्म के–के भेटियो ?

खशोग्गीको हत्या कसरी भयो भन्नेमा एक मत छैन । 
उनी टर्कीमा बस्दै आएकी आफ्नी प्रेमिकासँगको विवाहको कागजपत्र मिलाउन वाणिज्य दूतावास गएका थिए । 

टर्कीका सञ्चारमाध्यमहरुका अनुसार खशोग्गीको बर्बरतापूर्ण रुपमा हत्या गरिएको हो । साउदी अरबले पहिले खशोग्गी दूतावासमा आएको तर सुरक्षित रुपमा बाहिर गएको बताएको थियो । तर सबैतिरबाट दबाब आएपछि उसले दूतावासभित्रै खशोग्गीको हत्या भएको स्वीकार गरेको थियो । 

साउदी प्रशासनले १८ जना संदिग्ध व्यक्तिलाई गिरफ्तार गरेको छ । टर्कीले भने संदिग्द अपराधीहरुको सुपुर्दगी चाहन्छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया