विदेशमा गैरकानुनी रूपमा काम गरिरहेका श्रमिकका लागि प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

 असोज ९, २०८० मंगलबार १५:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले विदेशमा कार्यरत श्रमिकका लागि सुरु गरेको टेलिमेडिसिन सेवा गैरकानुनी रूपमा काम गरिरहेका श्रमिकको लागि प्रभावकारी बन्दै गएको छ ।

विभिन्न कारणले गैरकानुनी हैसियतमा काम गरिरहेका श्रमिकहरूलाई आफ्नो स्वास्थ्य समस्या राख्ने सजिलो र प्रभावकारी माध्यम टेलिमेडिसिन सेवा बनेको बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलले बताउनुभयो । 

उहाँका अनुसार विदेशमा कानुनी हैसियतमा काम गरिरहेका श्रमिकको तुलनामा टेलिमेडिसिन सेवा लिनेहरू कम्पनी छाडेर कागजात विहीन भई गैरकानुनी रूपमा काम गरिरहेका बढी छन् ।

‘टेलिमेडिसिन सेवा लिन सबै खाले श्रमिकहरूले सम्पर्क गरिरहनुभएको छ तर विशेष गरी विदेशमा गैरकानुनी रूपमा काम गरिरहनु भएकाहरुले धेरै फोन गरिरहनुभएको छ’ निर्देशक पौडेलले भन्नुभयाे' बाहिर निस्कँदा पक्राउ पर्ने डर हुने रहेछ, टेलिमेडिसिन सेवा त फोन गरेर र भिडियो कलमार्फत नै लिन पाइने भएकाले उहाँहरूका लागि सहज र प्रभावकारी भएको छ ।’

विदेशमा कम्पनी छाडेर, भिसा सकिएपछि भागेर वा अन्य विभिन्न कारणले श्रमिकहरू गैरकानुनी हैसियतमा पुग्ने गर्छन् । उनीहरूले लुकीछिपी काम गरिरहेको भए पनि कुनै अप्ठेरो वा स्वास्थ्य समस्या पर्दा अस्पतालमा उपचार गर्न समस्या हुन्छ । 

बसिरहेको ठाउँभन्दा बाहिर निस्कँदा पक्राउ पर्ने वा कुनै कानुनी कारबाही हुने डरका कारण पनि कतिपय गैरकानुनी हैसियतमा काम गरिरहेका श्रमिकहरू व्यथा लुकाएर बस्न बाध्य हुन्छन् । तर गएको चैत महिनादेखि बोर्डले सुरु गरेको टेलिमेडिसिन सेवाले यस्ता श्रमिकलाई राहत दिएको छ । यो सेवा लिन दैनिक सरदर २५ देखि ३० जनाले सम्पर्क गर्ने गरेका छन् ।

विदेशमा रहेका नेपालीहरूले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्छन् । 

मलेसियाबाट धेरै फोन

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि सरकारले सुरु गरेको टेलिमेडिसिन सेवा लिन सबैभन्दा धेरै मलेसियाबाट फोन आउने गरेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साढे तीन महिनाको अवधिमा सबैभन्दा धेरै मलेसियाबाट दुई सय ७५ जनाले फोन गरेर सेवा लिएका छन् । 

यस्तै मलेसियापछि साउदी अरेबियाबाट समस्या राख्ने नेपालीको सङ्ख्या धेरै छ । साउदी अरेबियाबाट गएको आर्थिक वर्ष २०७९ चैत १५ देखि २०८० असार मसान्तसम्ममा दुई सय २७ जनाले फोन गरेर टेलिमेडिसिन सेवा लिएका छन् । 

साउदीपछि यूएईबाट ९७ जनाले, कुवेतबाट ७१ जनाले, कतारबाट एक सय चार जनाले, जापानबाट १९ जनाले, कोरियाबाट ५७ जनाले, पोर्चुगलबाट ११ जनाले, रोमानियाबाट ११ जना र अन्य विभिन्न देशबाट ६५ जनाले फोनमार्फत टेलिमेडिसिन सेवा लिएको बोर्डले जनाएको छ । 

गएको वर्ष चैत १५ गतेदेखि वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि टेलिमेडिसिन सेवाको सुरुवात गरेको हो ।

टेलिमेडिसिन सेवा संसारको जुनसुकै देशबाट पनि फोन गरेर लिन सकिन्छ । फोन मेडिकल अधिकृतहरूले उठाएर समस्या सुन्छन् र विशेषज्ञ सेवा चाहिएमा विशेषज्ञ डाक्टरकोमा रेफर गर्छन् । समस्याको आधारमा टेलिमेडिसिन सवामा विशेषज्ञ डाक्टरहरूले समेत सेवा दिने गरेका छन् । 

मेडिसिनसँग सम्बन्धित समस्या राख्ने धेरै

फोनमा मेडिसिनसँग सम्बन्धित समस्या राख्ने सबैभन्दा धेरै तीन सय १२ जना रहेका छन् । सर्जरीसँग सम्बन्धी १७२ जना, अर्थोपेडिक अर्थात् हाड जोर्नी तथा नशासँग सम्बन्धित समस्या राख्ने १३२ जना, नाक, कान र घाटीसँग सम्बन्धित समस्या राख्ने ९५ जना, छाला सम्बन्धी समस्या राख्ने ६३ जना रहेका छन् । 

यस्तै दाँतसँग सम्बन्धीतदेखि मानसिक स्वास्थ्य समस्या लगायतका समस्या राख्ने श्रमिकको सङ्ख्या पनि उल्लेख्य रहेको बोर्डले जनाएको छ ।

अहिले कार्यालय समयमा मात्र सञ्चालन हुने टेलिमेडिसिन सेवा छिट्टै नै बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्ने बोर्डको योजना छ ।

फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृतहरूले खटिएका छन् ।  

मनोपरामर्श सेवा पनि प्रदान गर्ने

बोर्डले चालु आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि मनोपरामर्श सेवा पनि प्रदान गर्ने भएको छ ।

त्यसका लागि बोर्डमा एक जना मनोपरामर्शकर्ता खटाउने र विदेशमा रहेका श्रमिकलाई फोन मार्फत नै मनोपरामर्श सेवा प्रदान गर्ने बोर्डका निर्देशक पौडेलले बताउनुभयो । यसका लागि बोर्डले छुट्टै सम्पर्क नम्बरको व्यवस्था गर्ने जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याको कारण बिमारी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया