वैदेशिक रोजगारीमा जान नेपालीले तिर्छन् औसतमा डेढ लाख, कमाउँछन् महिनामा ४० हजार

 असोज ९, २०८० मंगलबार १६:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकले जाने बेला म्यानपावर र एजेण्टलाई औसतमा डेढ लाख रुपैयाँ तिर्ने गरेको तर कमाइ भने महिनामा औसत ४० हजार रुपैयाँ रहेको एक अध्ययनले देखाएको छ । 

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सन् २०१४ देखि २०२२ को अवधिमा वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका १५ हजारभन्दा धेरै श्रमिकहरूको अवस्था विश्लेषण गरी गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले महिनाको औसत ४० हजार ३३४ रुपैयाँ कमाउने गरेका छन् ।

श्रमिकको कमाइ उनीहरूले गर्ने पेसा र देश अनुसार फरक फरक पाइएको पनि अध्ययनमा उल्लेख छ । 

तर अध्ययन अनुसार वैदेशिक रोजगारीमा जान श्रमिकले कम्तीमा पनि साढे एक लाख रुपैयाँ बुझाउने गरेका छन् । 

सरकारले खाडीका देश र मलेसियामा फ्री भिसा र फ्री टिकटको नियम लागू गरे पनि वैदेशिक रोजगारीमा जाने श्रमिकले जाने बेलामा चर्को शुल्क तिर्न परेको पाइएको छ । 

पीएनसीसीमा सन् २०१८ देखि २०२२ को अवधिमा समस्यामा परेर आएका श्रमिकहरूले औसतमा एक लाख ४६ हजार २९३ रुपैयाँ तिरेर वैदेशिक रोजगारीमा गएको अध्ययनले देखाएको छ ।

पुरुष श्रमिकको तुलनामा महिला श्रमिकले केही कम भर्ना शुल्क तिरेको पाइएको छ । महिला श्रमिकहरूले औसतमा एक लाख ६ हजार ७२० रुपैयाँ तिरेको अध्ययनमा उल्लेख छ । 

जसको कारण वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशको कमाइबाट फाइदाभन्दा बढी नकारात्मक प्रभाव परेको अध्ययनको निष्कर्ष छ । 

पछिल्लो समय युरोप रोजगारीको नाममा करोडौँ रुपैयाँ ठगी भइरहेको छ । संस्थागत रूपमा युरोप रोजगारीमा पठाउने बाटो बन्द हुँदा एजेण्ट र बिचौलियाले मनलाग्दी रकम लिएर युरोप रोजगारीमा व्यक्तिगत रूपमा पठाएका छन् ।

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै आकर्षक रोजगारीको प्रलोभन देखाइ रकम लिएर सम्पर्क विहीन हुने क्रम पनि बढ्दो छ ।

चालु आर्थिक वर्षको पहिलो साउन महिनामै वैदेशिक रोजगार विभागमा युरोप रोजगारीको नाममा भएको ठगीका तीन सय ५२ उजुरी परेको छ ।

यसरी ठग्नेहरू म्यानपावरभन्दा बढी एजेण्ट र विभिन्न गैरकानुनी व्यक्तिहरू रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया