इजरायलमा सहायक कामदार पठाउन दोस्रो चरणको तयारी गर्दै सरकार

 असोज ११, २०८० बिहिबार १२:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउन सरकारले तयारी थालेको छ ।

पहिलो चरणमा छनौट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणको तयारी पनि भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर बहादुर सुनुवारले जानकारी दिनुभयो ।

उहाँका अनुसार इजरायलले दोस्रो चरणमा उल्लेख्य सङ्ख्यामा सहायक कामदारको रूपमा नेपालीहरूलाई लैजाने इच्छा देखाएको छ । 

‘पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदारको रूपमा नेपालीहरू लैजाने इजरायलले रुचि देखाएको छ, हामीले त्यही अनुसारको तयारी पनि गरिरहेका छौँ’ सहायक प्रवक्ता सुनुवारले भन्नुभयो ‘पहिलो चरणमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रम मन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको छ ।’

इजरायल रोजगारीमा सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिकहरू जाने गरेका थिए । तर म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । 

बन्द भएको झन्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक जाने प्रक्रिया थालिएको हो । यसका लागि नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।

त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भयो ।

त्यसपछि २०७८ सालमा पहिलो चरणमा १६ सय जनाको नाम सिफारिस गरी नेपालले इजरायललाई पठाएको थियो । उनीहरूमध्येबाट ११ सय ७५ जना चिठ्ठा प्रणालीमार्फत इजरायल रोजगारीको लागि छनौट भएका थिए ।

जसमध्ये एक हजार एक सय तीन जना इजरायल गएको मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले बताउनुभयो । छनौट भएका मध्ये ७२ जनाले भने इजरायल रोजगारीमा जान चाहेनन् ।

‘दुई देशबीच भएको सम्झौता अनुसार पहिलो चरण सफलतापूर्वक सम्पन्न भयो, सबैजसो इजरायल रोजगारीमा पुगिसक्नुभएको छ, एका दुई उड्न बाँकी हुनुहुन्छ तर उहाँहरूको पनि भिसा प्राप्त भइरहेको छ’ सहायक प्रवक्ता सुनुवार भन्नुहुन्छ ‘नेपाली श्रमिकको काम र मेहनतप्रति इजरायल सरकार खुसी छ, उसले दोस्रो चरणका लागि उल्लेख्य सङ्ख्यामा सहायक कामदारको माग गरेको छ ।’

इजरायल रोजगारीमा सरकारी प्रक्रियामार्फत नै श्रमिकहरू गइरहेका छन् । वैदेशिक रोजगार विभागमा छुट्टै शाखाको स्थापना गरेर श्रमिकको आवेदन माग्नेदेखि परीक्षा र अन्य सबै प्रक्रिया सरकारी तवरबाटै भएको हो ।

कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो ।

सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार ५ सय ४३ डलर तोकिएको छ ।

सरकारी प्रक्रियामार्फत इजरायल गएकाहरूले मासिक रूपमा कम्तीमा दुई लाख रुपैयाँ कमाएको सहायक प्रवक्ता सुनुवार बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया