साउदीमा भेडा चराएर फर्कनुभएका बलबहादुर अहिले आफ्नै गाउँमा बाख्रापालनमा रमाउँदै

 असोज १५, २०८० सोमबार १५:०:४१ | रासस
unn.prixa.net

बागलुङ – गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ ।

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । उहाँ पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किनुभएको हो । उहाँ  भन्नुहुन्छ ‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो, अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ ।’

 बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा व्यस्त हुने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ । साउदीमा साहुको भेडा चराउने काम गर्नुभएका उहाँ अहिले आफैँ मालिक बन्नुभएको छ ।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनु पर्‍यो केसीलाई । तर अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि बिदेसिनुभएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देख्नुभएको छ । 

उहाँ भन्नुहुन्छ ‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रशस्त आयआर्जनको स्रोत यही छ ।’ चार वर्षदेखि बाख्रापालनमा लाग्नुभएका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउनुहुन्छ । विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उहाँको भनाइ छ ।

‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाई भैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ’ उहाँले भन्नुभयो ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो ।’

उहाँले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गर्नुभएको छ । स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ बाख्रा छन् । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख रुपैयाँ लगानी उहाँले गर्नुभएको छ ।  अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उहाँले बताउनुभयो । एउटा बोकाको २० देखि ३० हजार रुपैयाँसम्म बिक्री हुने उहाँको भनाइ छ ।

उहाँले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गर्नुभएको छ । खसी बोका उत्पादन गर्न सके बजारको कुनै समस्या भएको उहाँ बताउनुहुन्छ । कुनै पनि कामलाई सम्मान गर्न सके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ ।

उहाँले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेँडा खेती सुरु गर्नुभएको छ । वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०÷५० हजार अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउनुहुन्छ । अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ । करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

‘विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्त्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ’ मुस्कुराउँदै केसी भन्नुहुन्छ ‘सन्चो बिसन्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि त्यहीअनुसारको वातावरण तयार गरी दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया