दशैँ तिहार मान्न घर फर्कँदै हुनुहुन्छ ? अरूको सामान साथमा बोकेर नआउनुहोस्

 असोज १५, २०८० सोमबार १७:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ र साथीभाइ वा आफन्तको सामान पनि साथमा ल्याइदिने योजनामा हुनुहुन्छ भने सचेत हुनुहोस् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले घर फर्किदा कोही पनि साथीभाइ वा अन्य मानिसको उपहार साथमा लिएर नआउन अनुरोध गरेको छ । 

दशैँं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।

आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने भनेर उल्लेख गरिएका बाहेक सामान नल्याउन अनुरोध गरिएको हो ।

चाडबाडको बेलामा विभिन्न देशबाट स्वदेश आउने यात्रुहरूलाई विभिन्न व्यक्ति तथा समूहले प्रलोभन देखाइ विभिन्न सामानहरू जस्तै ल्यापटप, मोबाइल, सुन, घडीजस्ता कुराहरू उपहारको रूपमा भन्दै पठाउने गरेको पाइएको भन्दै कार्यालयले सचेत गराएको हो । 

यस्तो सामान लिएर आउँदा विमानस्थलमा अप्ठेरो पर्न सक्छ । किनकि व्यक्तिगत प्रयोजनका लागि ल्याउने यस्ता सामान कानुनले तोकेभन्दा बढी भएमा भन्सार शुल्क तिर्नु पर्छ र त्योभन्दा पनि बढी भएमा वा कुनै शङ्का लागेमा सामान जफत हुनुका साथै तपाईँ कारबाहीमा समेत पर्न सक्नुहुन्छ । 

पछिल्लो समय यूएई, साउदी, कतार, हङकङ, थाइल्याण्डलगायतका देशबाट स्वदेश फर्कनेहरूले अरूको सामान लिएर आउने र जाँचको क्रममा कतिपय श्रमिकहरूले समेत विभिन्न कानुनी झमेला झेल्न परेको छ । 

कानुन अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसै गरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था छ । 

यसै गरी मोबाइलको हकमा भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका श्रमिकले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर थप एक थान मोबाइलको लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकले भने जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । त्यो भन्दा ठुलो आकारको भएमा भन्सार लाग्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया