शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ म्यानपावर निलम्बनमा

 असोज १५, २०८० सोमबार १७:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शङ्कास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न १४ म्यानपावर निलम्बनमा परेका छन् ।

  जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि १४ वटा इजाजत प्राप्त म्यानपावर कम्पनीहरू निलम्बन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेशलन इप्लोइमेन्ट एजेन्सी प्रालि, सत्यावाती ओभरसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज इप्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि रहेका छन् । 

यसैगरी भण्डारी ओभरसिज प्रालि, वल्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेसनल प्रालि, मन्जुश्री ओभरसिज प्रालि, एएनएस एसोसियटस् प्रालि, क्यापिटल इन्टरनेशनल म्यानपावर प्रालि, ग्राण्ड सुइट जब प्रालि र ओक्सन इन्टरनेसनल प्रालि(अभतार ह्युमन रिसोर्स प्रालि) पनि निलम्बनमा परेका छन् । 

यी सबै म्यानपावरहरूले वैदेशिक रोजगारीमा श्रमिक पठाउन सरकारसँग अनुमति लिएका छन् । 

विभागमा केही म्यानपावर कम्पनीहरूले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिकहरू जापान पठाएको उजुरी परेको थियो ।

उजुरीको आधारमा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा यी १४ म्यानपावरको संलग्नता रहेको देखिएको विभागले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको विभागले जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया