संस्थागत ठगी केही घटे पनि एजेण्टहरुले टन्न कमाइ हुने प्रलोभन देखाएर ठगी गर्ने क्रम बढेको छ

 कात्तिक २, २०८० बिहिबार १०:३८:५३ | कविराज उप्रेती
unn.prixa.net

वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू आउने र आएका उजुरी उपर कारबाही गर्ने कार्य दिनहुँ चलिरहेकै छ । तर उजुरीको तथ्याङ्क हेर्दा पहिलेको तुलनामा उजुरीको प्रकृति केही परिवर्तन भएको जस्तो देखिन्छ ।

विभागमा आउने उजुरीको तथ्याङ्क हेर्दा पछिल्लो केही महिनामा केही सङ्ख्या घटेको छ । साउन महिनामा ६ सय ६६ उजुरी परेको थियो भने भदौ महिनामा यो सङ्ख्या ६० वटा घटेको छ ।

परेको उजुरीको फरफारक गर्ने सङ्ख्या पनि विभागले केही बढाएका छ ।

तर यसमै चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । जति सङ्ख्या ठगी घट्नु पर्ने हो त्यसरी घट्न सकेको छैन ।

पछिल्लो समय व्यक्तिगत ठगी निकै ठुलो मात्रामा भइरहेको छ । कतिपय अवस्थामा लेनदेन हुने, विदेश लैजान्छु भनेर विभिन्न बहानामा व्यक्तिहरूले प्रलोभन देखाउने र जान चाहनेहरूले पनि जति भन्यो त्यति पैसा लगानी गर्ने अवस्था छ ।  कतिपयले त बिना प्रमाण रकमहरू हातमा दिइरहनुभएको छ ।

अहिले अनलाइनमै यति ठुलो समस्या देखिएको छ कि जस्तो खालको सूचना पनि जसले जहाँबाट पनि हालिदिने  गर्न थालेका छन् । उदाहरणका लागि जर्मनीमा तीन हजार कामदार चाहियो भनेर वैदेशिक रोजगार विभागकै लेटर हेडमै विज्ञापन गरेको पनि हामीले पायौँ ।

तर ठगीमा पर्ने श्रमिकलाई आफू ठगिइरहेको छु भन्ने थाहै नहुने रहेछ । उहाँहरूलाई आफू ठगिन सक्छु भनेर लाग्दै लाग्दैन ।

यसमा सायद ठुलै गिरोह पनि सक्रिय भएको हुन सक्छ । यसमा विभागले छानबिन पनि गरिरहेको छ । सम्बन्धित निकायलाई लेखी पनि पठाएका छौँ । श्रमिकहरू आफैँ सचेत नहुँदासम्म ठगीको घटना न्यूनीकरण गर्न निकै कठिन रहेछ ।

पछिल्लो समय त एजेण्टहरुले वैदेशिक रोजगारीमा जानेहरूको मनसाय बुझ्ने र उनीहरूको मनोविज्ञान पढेर त्यस अनुसार पैसा बढाउने पनि गर्ने रहेछन् । तर ठगीमा पर्ने श्रमिकलाई आफू ठगिइरहेको छु भन्ने थाहै नहुने रहेछ । उहाँहरूलाई आफू ठगिन सक्छु भनेर लाग्दै लाग्दैन । जब एजेण्टले फोन उठाउन छाड्छ तब मात्र आफू ठगिएको थाहा पाउने रहेछन् । अनि चाहिँ विभाग र प्रहरीतिर आउनुहुन्छ श्रमिकहरू ।

कानुनले कोही व्यक्तिलाई वैदेशिक रोजगारीको काम गर्ने अनुमति दिएको छैन । कि त सरकार सरकारमार्फत(जीटुजी), कि त म्यानपावरमार्फत र कि व्यक्ति स्वयमले रोजगारदातासँग सम्पर्क गरेर व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जानु पर्‍यो । तर अहिले भइरहेको के छ भने एउटा व्यक्तिले अर्को व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम असुल्ने र ठगी गर्ने क्रम बढेकाले पनि ठगीको सङ्ख्या बढेको छ । 

म्यानपावरमार्फत हुने ठगी केही घट्यो 

व्यक्तिगत ठगीको तुलनामा पछिल्लो समय संस्थागत रूपमा हुने ठगी चाहिँ केही घटेको देखिन्छ । वैदेशिक रोजगार विभागमा परेका विगत दुई महिनाको उजुरीकै तथ्याङ्क केलाउने हो भने पनि घट्दै घट्दै आएको देखिन्छ । यसमा केही कारणहरू छन् ।

एक त पछिल्लो समय वैदेशिक रोजगार विभागले अत्यन्तै सशक्त रूपमा आफ्नो क्रियाकलापहरू अघि बढाएको छ । क्षतिपूर्ति अर्थात् उजुरी फरफारक नगर्ने संस्थाहरूलाई हामीले जरिवाना गर्ने हो कि, समयमै क्षतिपूर्ति दिन निर्देशन दिनेदेखि कारोबार रोक्का गर्ने, निलम्बन नै गर्ने वा इजाजत नै रद्द गर्ने सम्मको कारबाही गरिएको छ ।

उजुरीको प्रकृति र संस्थाहरूले दिएको प्रतिक्रियाको आधारमा विभागले कस्तो खालको कारबाही गर्ने भनेर निर्णय गरिरहेको छ ।

यो विभागको एउटा सफलता पनि हो । यो सफलतामा इजाजतपत्रवाला संस्थाहरूले सहयोग पनि गर्नुभएको छ ।

पछिल्लो समय त म्यानपावर कम्पनीहरूले कुनै श्रमिकको समस्या आएमा आफैले समाधान गर्ने प्रयास गर्ने र नभएमा मात्र विभागमा आउने गर्न थाल्नुभएको छ । ९ सय ६० भन्दा धेरै म्यानपावरहरूले श्रमिक विदेश पठाइरहेको अवस्थामा महिनाको झण्डै ७० वटा उजुरी आउनुलाई मैले त्यही ठुलो रूपमा लिएको छैन । 

गैरकानुनी एजेण्टको बिगबिगी

हामीलाई प्राप्त उजुरीको आधारमा संस्थागत ठगी घट्यो भनिरहँदा फेरि अन्य केही शङ्का गर्ने ठाउँहरू पनि छन् । जस्तै कानुनमा भए अनुसार म्यानपावरले एजेण्ट राख्न नपाउने स्पष्ट व्यवस्था छ ।

त्यस्तै एजेण्टहरुले मेरो फलानो फलानो म्यानपावरसँग सम्पर्क छ भन्ने र व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाइरहेको पनि पाइएको छ ।

तर यहाँ भइरहेको छ भने नजिकको गाउँको वा जिल्लाको मानिस जसलाई चिनेको छ उसलाई पैसा दिने र एजेण्टहरुलाई नै बढी विश्वास र प्रयोग गरेको पाइन्छ । इजाजतपत्रवाला म्यानपावर र श्रमिकको सिधा सम्पर्क नहुँदा पनि केही समस्या भइरहेको छ ।

अर्को आशङ्का के पनि छ भने जो मानिसले पैसा बुझ्छ त्यसले श्रमिकलाई पनि ठग्न सक्छ र म्यानपावर कम्पनीलाई पनि उसले ठग्न सक्छ । 

त्यस्तै एजेण्टहरुले मेरो फलानो फलानो म्यानपावरसँग सम्पर्क छ भन्ने र व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाइरहेको पनि पाइएको छ ।

तर यस्तो कार्य गर्ने संस्था होस् या व्यक्ति उनीहरूलाई विभागले कारबाहीको दायरामा चाहिँ ल्याएको छ । कानुनमा केही लुप होलहरु नभएको हैन छ । तर ठगी गर्नेले उन्मुक्ति पाउने भन्ने त कदापि हुँदैन ।

प्रमाणको महत्त्व 

वैदेशिक रोजगार विभागले न्याय दिएन भनेर हामीलाई आम सर्वसाधारणले गुनासो पनि गर्नुहुन्छ । विभागमा परेको उजुरीहरू फरफारक भएनन् भन्ने पनि गर्नुहुन्छ । त्यसको केही कारणहरू छन् । वैदेशिक रोजगार विभागलाई मात्र होइन कोही कसैलाई कारबाही गर्न त ऐनले तोके अनुसारको प्रमाणहरू आवश्यक पर्छ ।

श्रमिकहरूले उजुरी दिँदा आफ्नो विषय खुलाउनुहुन्छ । त्यसका साथसाथै पैसा बुझाएको र त्यसमा वैदेशिक रोजगारीको लागि पैसा दिएको हो भन्ने प्रमाण पनि आवश्यक हुन्छ । तर यहाँ त कतिपय अवस्थामा लेनदेन पनि हुने गरेको देखिन्छ ।

तर लेनदेन र वैदेशिक रोजगारको कारोबार त फरक कुरा हुन्छ । एउटा मान्छे वा संस्थाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्यो र रकम लियो तर पठाएन भने त्यो विभागको क्षेत्राधिकार भित्र पर्छ । यस्तो बेलामा पैसा वैदेशिक रोजगारीकै लागि दिएको हो भन्ने खुल्नै कुनै न कुनै प्रमाण देखाउनुस् भन्ने हो ।

पछिल्लो समय त विभागले भाइवर, इमो, फेसबुक लगायतमा कुरा भएको छ र त्यसमा यति पैसा यो देशमा पठाउन लाग्छ म पठाइदिन्छु, भिसा आउछ भन्ने खालका वैदेशिक रोजगारी सम्बन्धी शब्दावलीको प्रयोग भएको छ भने पनि त्यसलाई प्रमाणको रूपमा लिने गरेको छ । तर कहीँ न कहीँ वैदेशिक रोजगारी हो भन्ने खुलाउने आधार चाहिँ हुन पर्छ । 

उजुरी त केही प्रमाणको आधारमा दर्ता हुन सक्छ । तर त्यसलाई टुङ्गोमा पुर्‍याउनको लागि त समग्रमा प्रमाणहरू आवश्यक पर्छ । यदि समग्र प्रमाणहरू उपलब्ध भएन भने त मुद्दा किनारा लाग्दैन । त्यस्तो बेलामा छलफल गरेर मिलापत्रमा जानु पर्ने अवस्था पनि हुन्छ ।

विभागमा आउने धेरैजसो श्रमिकहरूसँग आजकाल केही न केही प्रमाण हुन्छ । तर एजेण्टहरुले यस्तो यस्तो चलाखी गरिदिनुहुन्छ कि जुन एउटा सामान्य श्रमिकको कल्पनाभन्दा बाहिरको कुरा बनिदिन्छ ।

त्यसकारण कहिलेकाहीँ प्रमाणको अभावमा पनि उजुरी फर्स्यौट कम हुने गर्छ । प्रमाण पुगेका उजुरीहरू त हामीले वैदेशिक रोजगार न्यायाधिकरणमा समेत अभियोजन दायर गर्छौँ । गएको भदौ महिनामा मात्रै १७ वटा उजुरीको अभियोजन दायर गरेका छौँ ।

तर प्रमाण नहुँदा समस्या हुन्छ । अनुसन्धान अधिकृतलाई लाग्छ कि यो मानिस ठगीमा परेका छ, यसको पैसा एजेण्टले खाएको छ । तर लागेर मात्र हुँदैन । कानुनले प्रमाण खोज्छ । एउटा सानो मात्र प्रमाण भयो भने पनि त्यस उपर कारबाही गर्न सजिलो हुन्छ ।

पछिल्लो समय श्रमिकमा प्रमाण राख्नु पर्छ भन्ने सचेतना बढ्दै गएको छ । विभागमा आउने धेरैजसो श्रमिकहरूसँग आजकाल केही न केही प्रमाण हुन्छ । तर एजेण्टहरुले यस्तो यस्तो चलाखी गरिदिनुहुन्छ कि जुन एउटा सामान्य श्रमिकको कल्पनाभन्दा बाहिरको कुरा बनिदिन्छ ।

उदाहरणका लागि २५ जना ३० जना ठगिए भनेर विभागमा आउनुहुन्छ । एक एक लाख ठगिदा पनि ३० लाख त ठगियो । तर यहाँ भएको के हुन्छ भने त्यो ठगी गर्ने मान्छेले पैसा लिँदा पीडित श्रमिक मध्येमै कोहीको बैंक खाता दिएर त्यसमा हाल्देउन् सबैले अनि तिमीले मलाई देऊ न भनेर अरू साथीहरूको पैसा एउटाको खातामा हाल्न लगाएको हुन्छ । उसले निकालेर हातमा दिन्छ त्यसको त प्रमाण हुँदैन ।

तर हामीले अनुसन्धान गर्दै जाँदा त उजुरी दिने पीडितकै खातामा पैसा गएको देखिन्छ । त्यसो हुँदा उजुरीकर्तालाई नै कारबाही गर्नु पर्ने अवस्था आएको छ । यस्तो अवस्थामा पीडित श्रमिक नै सजायको भागीदार हुन परेको छ । ठगी गर्ने व्यक्तिहरूले विभिन्न प्रकृतिको विभिन्न चलाखीहरू अपनाउँछन् । त्यसो हुनाले तपाईँहरू सचेत हुनुहोस् । 

ठगी गर्नेहरूको रेकर्ड राष्ट्रिय प्रणालीमा  

प्रहरी प्रधान कार्यालयकै अगुवाइमा अहिले एउटा अपराधको सवालमा ठगी कार्यमा संलग्न व्यक्ति र उसको विषयमा अर्ध न्यायिक विभिन्न निकायहरूले अनुसन्धान गरिरहेको छ भने ती व्यक्तिहरूको नेम लिस्ट चाहिँ एउटा सेन्ट्रल सिस्टममा राख्ने गरी काम अघि बढेको छ ।

अपराधमा संलग्न वा अपराध गर्न सक्ने सम्भावित व्यक्तिहरू जसको उजुरी वैदेशिक रोजगार विभाग, राजश्व अनुसन्धान विभाग लगायतका अर्धन्यायिक निकायहरूमा परिरहेको छ भने उसको रेकर्ड राख्ने र भोलिका दिनमा प्रहरी चारित्रिक प्रमाणपत्र बन्दाखेरी उसको रेकर्ड प्रहरीले पाउनेगरीको सिस्टम बन्दै छ ।

मलाई लाग्छ यस सम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशित भएर आइसकेको छ । अब सिस्टममा लगेर सबै अर्ध न्यायिक निकायले यो भूमिका खेल्न सक्यौ भने यसले ठग र ठगीमा संलग्न व्यक्तिहरूको प्रविधिको प्रयोग गरेर निगरानी गर्न सक्छौं ।

अपनाउन पर्ने सावधानी

पछिल्लो समय वैदेशिक रोजगारीमा जान खोज्ने धेरै जना हुनुहुन्छ ।  सरकारले एकातिर देशमै रोजगारी गर भन्न सकिरहेको छैन भने अर्कोतिर वैदेशिक रोजगारीलाई पनि पूर्ण रूपमा सहजीकरण गर्न सक्ने अवस्थामा पुगिसकेको छैन । त्यसकारण श्रमिकहरूले सावधानी अपनाउनु पर्ने अहिलेको पहिलो आवश्यकता हो । 

 आफूलाई कस्तो कस्तो मानिसले फकाइरहेको छ, कस्तो कस्तो व्यक्तिहरूले त्यो काम गरिरहेका छन् भनेर सुरुदेखि नै प्रत्येक भेटमा, म्यासेजमा वा फोनमा के भनिरहेको छ, यो मान्छेले साँच्चै काम गरिदिने खालको कुरा छ कि झुलाइ मात्र रहेको छ भनेर ख्याल गर्नुहोस् । 

धेरै नेपाली दाजुभाइ दिदीबहिनी अर्ध दक्ष अर्थात् सीप र क्षमता नै नभई विदेश गइरहनुभएको छ । तर त्यो देशमा गएर म यो काम गर्न सक्छु सक्दिन भन्नेदेखि भाषा के हो कसरी बोल्नुपर्छ भन्नेसम्मका कुरा ख्याल गर्नुहोस् ।

पैसाको कारोबार कुनै पनि हालतमा क्यासमा नगरौँ । जति नै पैसा होस् चाहे हजार होस् या पाँच सय कानुनले दिन मिल्ने पैसा बैङ्किङ च्यानलमार्फत दिऔँ । के का लागि पैसा दिएको हो त्यसको प्रयोजन खुलाउने गरौँ ।  

त्यसै गरी कति वर्षका लागि कुन देशमा के कामका लागि जान लाग्नुभएको हो, आफू जान लागेको देश कस्तो हो, आफ्नो सीप कति छ, आफूले जानेको काम त्यो कम्पनीलाई आवश्यक परेको छ कि छैन भन्ने कुरामा पनि ध्यान दिनुहोस् ।

धेरै नेपाली दाजुभाइ दिदीबहिनी अर्ध दक्ष अर्थात् सीप र क्षमता नै नभई विदेश गइरहनुभएको छ । तर त्यो देशमा गएर म यो काम गर्न सक्छु सक्दिन भन्नेदेखि भाषा के हो कसरी बोल्नुपर्छ भन्नेसम्मका कुरा ख्याल गर्नुहोस् ।

नेपालमा काम पाइनँ अब विदेश जान्छु भनेर अलिअलि पैसा जम्मा गरेर एउटा एजेण्टको भरमा भन्दा पनि  सीप सिकेर, सूचना लिएर, आफू जाने देश र गर्नु पर्ने कामको बारेमा ज्ञान लिएर मात्रै वैदेशिक रोजगारीमा जानुहोस् ।

पक्कै पनि तपाईँको वैदेशिक रोजगारी सफल र सुखद हुने छ । 

(विभागका निर्देशक तथा सूचना अधिकारी उप्रेतीसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत ३०, २०८०

कविराज उप्रेती

उप्रेती वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया