सञ्चालनमा नआउँदै विवादमा पर्‍याे कालिञ्चोक केबलकार, बन्द नगरे आन्दोलन गर्ने चेतावनी

 कात्तिक १९, २०७५ सोमबार १७:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परीक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ ।

समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १ स्थित ऐतिहासिक कालिञ्चोकमाई भगवतीलाई माध्यम बनाई कालिञ्चोक दर्शन लिमिटेड (केवुलकार) खोलिएकोमा विरोध जनाएको हो ।

समितिका सल्लाहकार नरबहादुर पाख्रिनले कालिञ्चोक केबुलकार कानूनसम्बत निर्माण नगरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कालिञ्चोक केबुलकारको निर्माण नै अनधिकृत रुपमा भएको छ, राष्ट्रिय जंगल तथा चरन क्षेत्रलाई कब्जा गरेर बनाइएको छ, हामी त्यस क्षेत्रका मानिसहरुले कालिञ्चोक भगवतीमाईको सभ्यता, इतिहासलाई जोगाएर राखेका थियौं, सत्ता र शक्तिको आडमा राष्ट्रिय जंगल, सम्पदा र चरन क्षेत्रहरु मासिने काम भैरहेकाछन्, हाम्रो संघर्ष कुनै व्यक्तिका विरोधमा होइन ।’

कुनै परिवारको विरोधमा नभएर आफूहरुको समर्थन इतिहासलाई जोगाउन भएको उहाँको भनाई छ । ‘हाम्रो समर्थन कालिञ्चोकमाइको गरिमालाई जीवन्त बनाइराख्न हो, मन्दिरको प्राकृतिक रुप र आकारलाई बचाइराख्न हो, मन्दिरमा लाग्ने मेलाहरुमा आन्तरिक तथा बाह्य भक्तजनहरुले परम्परागत रुपमा धर्मकर्म र आवतजावत गर्न पाउनुपर्छ, प्राकृति रुपमा बनेका बाटोहरु यथावत रहनुपर्छ, व्यक्तिगत लाभ र सम्पति कमाउनको लागि कसैले पनि राष्ट्रिय सम्पत्ति कब्जा गर्नु हुँदैन ।’

केबलकार निर्माण पक्षले ईआए गर्दा त्यस क्षेत्र राष्ट्रिय जंगल तथा चरन क्षेत्र र नेपाल सरकारले २० वर्षको लागि गौरीशंकर संरक्षण क्षेत्रलाई लिजमा दिएको क्षेत्र रहेको उहाँको भनाई छ ।

‘गौरीशंकर संरक्षण क्षेत्रले केवुलकार निर्माण पक्षलाई ५० वर्षको लागि लिजमा दिन कानूनले मिल्दैन’, उहाँले भने, ‘दोस्रो पटक कपोकल्पित रुपमा नक्कली गुठी निर्माण गरी भूमि सुधार मन्त्रालयस्तरीय निर्णयबाट त्यस क्षेत्र कालिञ्चोक, त्रिपूरा सुन्दरी र  भीमेश्वर गुठीको नामाकरण गरेको पाइएको छ, त्यो सरासर कानूनविपरित, बिना अध्ययन, बिना आधार कुनै व्यक्तिको प्रलोभनमा परेर सत्ता र शक्तिको दुरुपयोग भएको छ ।’

सत्ता र शक्तिको आडमा यस्तो गलत काम भैरहेको आरोप लगाउँदै उहाँले आफूहरुले यसको खरो विरोध गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कानूनी आधारमा यसको समाधान खोजेका छौं, यदि हाम्रो आवाज सुुनुवाई भएन भने हाम्रो आन्दोलनले बिकराल रुप लिनेछ, त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ ।’

कार्यक्रममा समितिका सदस्यहरु रुवेन पाख्रिन, महेश भुजेल, सविन खड्गी, सचिन खड्गी, मंगल तामाङ, प्रकाश तामाङ, मनोज लामालगायतले कालिञ्चोक केबुलकारको निर्माण अवैधानिक रहेकोले कुनै पनि हालतमा खारेजी हुनुपर्ने माग गरेका छन् ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया