एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डको कीर्तिमान

 जेठ २६, २०७५ शनिबार २०:५८:११ | उज्यालो सहकर्मी

न्यूजिल्याण्डको महिला क्रिकेट टिमले एकदिवसीय क्रिकेटमा सवैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएको छ।

न्यूजिल्याण्डले शुक्रवार आयरल्याण्डसँगकाे खेलमा एकै पारीमा सर्वाधिक रन बनाउने किर्तिमान बनाएको हो ।

आयरल्याण्ड र इंग्ल्याण्डको भ्रमणमा रहेको न्यूजिल्याण्डको टिमले डब्लिनमा शुक्रबार भएको एकदिवसीय खेलमा ४ सय ९० रन बनाएको थियाे । महिला क्रिकेटमा यसअघि सबैभन्दा बढी रनको कीर्तिमान सन् १९९७ मा न्यूजिल्याण्डले नै बनाएको ४ सय ५५ रनको थियो । 

पाहुना टोली न्यूजिल्याण्डकी कप्तान सुजी बेट्सले ९४ बलमा १ सय ५१ र म्याड्डी ग्रीनले ७७ बलमा १ सय २१ रन बनाए । त्यसैगरी एमेलिया केरले ४५ बलमा अविजित ८१ रनको योगदान दिइन् ।

४ सय ९१ रनको लक्ष्य भेट्न ब्याटिङ गरेको घरेलु टोली ३५ ओभर ३ बलमा १ सय ४४ रनमा अलआउट भयो । फलत: न्यूजिल्याण्ड ३४६ रनको विशाल अन्तरले विजयी भयो । यो अहिलेसम्मको सवैभन्दा फराकिलो अन्तरको जित पनि हो ।

महिला तथा पुरुषका प्रतियोगितामै यो सवैभन्दा फराकिलो जित हो । 

अहिलेसम्मको ठूलो अन्तर दक्षिण अफ्रिकाको नाममा थियो । दक्षिण अफ्रिकाले सन २०१२ मा श्रीलंकालाई २ सय ५८ रनले हराएको थियो । पुरुषतर्फ सवैभन्दा धेरै रनको कीर्तिमान इग्ल्याण्डको नाममा छ । इंग्ल्याण्डले २०१६ मा पाकिस्तान विरुद्ध ४ सय ४४ रन बनाएको थियो । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया