मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न ...
मंसिर ६, २०८१ बिहिबार
विगतमा भूकम्प पीडितहरुका लागि भनेर विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले राहत सामग्री तथा राहत रकमको पनि घोषणा गरे । तर, राहतको सही सदुपयोग भने भएन । कतिपयले यसलाई आफूले व्यक्तिगत फाइदा उठाउने अवसरको रुपमा पनि उपयोग गरे । अहिले पनि भूकम्पपछि धेरै सङ्घसंस्था तथा व्यक्तिगतरुपमा पनि राहत सामग्री तथा रकमको घोषणा गर्ने काम भएको छ ।
राहत रकम तथा सामग्रीको घोषणा गर्नु त राम्रो कुरा हो तर, त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरामा भने सरकार सचेत हुनुपर्छ । सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने भनेको छ । यो एकदमै सही छ । अहिले देशभर भूकम्पले क्षति नपुर्याएका कारण पनि एकद्वार नीति लागू गर्न पनि सजिलो छ ।
२०७२ सालको भूकम्पमा हाम्रो स्थानीय सरकारहरु थिएनन् । अहिले स्थानीय सरकार पनि छ । प्रत्येक वडामा वडाध्यक्षहरु पनि छन् । उनीहरुलाई जिम्मेवार बनाएर एकद्वार प्रणालीबाट राहत वितरण गर्यो भने समानरुपले सबैले् पाउने सम्भावना पनि हुन्छ । यसो गर्दा पक्षपात हुँदैन । राहत सामग्री एकठाउँमा थुप्रिने र कसैले नपाउने भन्ने हुँदैन । २०७२ सालको भूकम्पमा भने कतै राहत सामग्री थुप्रिएको थियो भने कसैले पाउँदै नपाएको गुनासो सुनिएको थियो । त्यसबेला यस्तो धेरै गुनासो आयो । हामीले यस्ता धेरै गुनासा सुन्यौँ पनि ।
अहिले पनि कतिपय व्यक्ति तथा संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रमै गएर राहत वितरण गर्ने सोच बनाइरहेका पनि हुनसक्छन् । यसो गर्दा आफ्नो प्रचारप्रसार पनि हुने र व्यक्तिगत वा संस्थागतरुपमा पनि लाभ हुनसक्छ । तर, यसले यसले राहत वितरणमा भने एकरुपता नहुने र कतै थुप्रिने अनि कतै नपुग्ने अवस्था हुन्छ ।
कतिपयले व्यक्तिहरु आफैँ गएर राहत सामग्री दिँदा छिटो हुन्छ भन्ने गरेको पनि सुनियो । तर, व्यक्तिलाई सिधै भूकम्प प्रभावित क्षेत्रमा गएर राहत उपलब्ध गराउने सुविधा दिँदा व्यक्ति आफूले चाहेको सुगम तथा मनपरेको ठाउँमा मात्र जाने हुन्छ । त्यसो गर्दा दुर्गमका र अन्यत्रका पीडितले राहत नपाउने गरेको विगतको हाम्रो अनुभवले पनि देखाएको छ ।
यसो गर्दा एउटा व्यक्ति सजिलो ठाउँमा गएर राहत वितरण गर्छ । र, अर्को व्यक्ति पनि त्यही ठाउँमा गएर राहत वितरण गर्छ । यसो हुँदा कसैले सहयोगमाथि सहयोग पाउने हुन्छ भने कसैले सहयोग नै नपाउने हुन्छ । त्यसकारण यस्तोमा स्थानीय सरकारलाई जवाफदेही बनाएर राहत वितरण गर्नुपर्छ । अझ अहिले त भूकम्पग्रस्त क्षेत्रमा प्रत्येक वडाका वडाध्यक्षहरुलाई जिम्मेवार बनाएर राहत वितरण गर्दा सबै वडाका अनि सबै पीडितले समानरुपले र आवश्यक्ता अनुसार राहत पाउँछन् ।
वडाध्यक्षहरुलाई आफ्नो वडाको बारेमा र वडावासीको अवस्थाका बारेमा पनि पूर्ण जानकारी हुने हुँदा यसले राहतमा एकरुपता ल्याउने गर्छ । वडाध्यक्षमार्फत् राहत वितरण गर्दा त्यसलाई व्यवस्थित गर्न अभिलेख राख्न पनि सकिन्छ । यसरी अभिलेख राख्दा राहत कति आयो र कस्लाई कति वितरण भयो भन्ने कुरा पनि स्पष्ट हुन्छ ।
विशेषगरी जिल्लाको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारीले यसको नेतृत्व गर्नुपर्छ । आफ्ना प्रतिनिधिहरु पठाएर राहत कहाँ कसरी खर्च भइरहेको छ वा वितरण भइरहेको छ त्यसका बारेमा पनि सूक्ष्म अध्ययन गर्नुपर्छ । राहतमा बदमासी यदि कसैले गरेको छ भने त्यसलाई कारबाहीको दायरामा पनि ल्याइहाल्नु पर्ने हुन्छ । यसले गर्दा राहत दिने दातालाई पनि आफूले दिएको राहतको सही सदुपयोग भएको छ भन्ने हुन्छ । र, जो राहत दिने मन बनाइरहेका हुन्छन् उनीहरुलाई पनि राहत दिन यस्ले उत्साहित बनाउँछ ।
हाम्रो देश भूकम्पको जोखिम क्षेत्रमा रहेको छ । त्यसकारण भूकम्प जुनसुकै बेला जानसक्ने भएकोले अत्यावश्यक सामग्रीहरु र पूर्वाधार हामीले तयार गर्नुपर्छ । एकप्रकारले भन्दा भूकम्पको जोखिममा रहेको हुँदा हामीले भूकम्प गइसकेपछि बल्ल के गर्ने भनेर सोच्नेभन्दा पनि पूर्वाधारको तयार गर्नुपर्ने हुन्छ । जस्तो अहिले प्रदेश सरकार छ प्रदेशको राजधानीमा आवश्यक पर्दा तुरुन्तै वितरण गरिहाल्ने र गर्न सकिने सामग्रीको पहिले नै बन्दोबस्त गरेर राख्नुपर्छ । जस्तो जाजरकोटमा भूकम्प गएपछि कतिपय मानिसहरुले खुला आकाशमुनि रात बिताउनु पर्यो । तर, यदि हामीले सामान्य कुरो भए पनि पालको व्यवस्था गर्न सकेको भए पीडितले चिसोमा खुला आकाशमुनि बिताउनु पर्दैन थियो ।
हुनत भूकम्प जाँदा पहिला भनेको उद्धार नै हो । त्यसपछि मात्र राहतको कुरा आउँछ । र, अनि बल्ल पुनःस्थापनको कुरा आउँछ । अहिलेको भूकम्पमा उद्धार सरकारका सबै शक्ति लागे । सामाजिक नेतृत्व पनि लागे । यसले उद्धार समयमै हुन सक्यो । उद्धार सन्तोषजनक ढङ्गले भएको छ । यसको हामीले प्रशंसा नै गर्नुपर्छ । अब हाम्रो मुख्य ध्यान भनेको राहतमा केन्द्रित हुनुपर्छ । अब भनेको पीडितलाई खाने, बस्ने र न्यानो कपडा उपलब्ध गराउनु पर्ने हुन्छ । अबदेखि सरकारको शक्ति तथा सामर्थ्य भनेको पीडितलाई राहत सहज ढङ्गले र समानरुपले कसरी वितरण गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ ।
भूकम्पका कारण घाइते, तथा बिरामीलाई डाक्टरहरुले हेर्ने कुरा त छँदैछ । त्यो सरकारले गरिरहेको पनि छ । अरु सङ्घसंस्थाले पनि डाक्टर तथा औषधिसहितको टोली भूकम्प प्रभापित क्षेत्रमा पठाइरहेका छन् । तर, अब भूकम्पबाट घरबारविहीन भएकाहरुलाई अहिले तत्कालको लागि अस्थायीरुपमा बासको व्यवस्था पनि गर्नुपर्ने हुन्छ । यस्ता अस्थायी बसोबासमा खाना, तथा अहिले चिसो मौसम भएका कारण तातो कपडा ब्ल्याङ्केट आदिको व्यवस्था गर्नुपर्ने हुन्छ । भूकम्पबाट जोगिएकाहरु फेरि चिसोले कठ्याङ्ग्रिएर ज्यान जाने स्थिति नहोस् भनेर अरु निकायहरु त्यसमा चनाखो हुनुपर्ने हुन्छ ।
(रेग्मीसँगको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रेग्मी पूर्व सचिव तथा ट्रान्सपरेन्सी इण्टरनेशनल नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ ।