आमिरले भने : पहिलो श्रीमतीसँग अलग हुँदा धेरै पीडा भयो

 कात्तिक २०, २०७५ मंगलबार १७:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता आमिर खान यतिबेला सिनेमा ‘थग्स अफ् हिन्दोस्तान’को प्रमोसनमा व्यस्त छन् ।

यही क्रममा कफी विथ करण सिजन ६ मा पुगेका आमिरले आफ्ना केही निजी कुराहरु पनि  खुलासा गरेका छन् । आमिरले दुईवटा विवाह गरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथै उनले कफी विथ करणमा आफूले एक साथ दुईजनालाई डेट गरेको कुरा पनि स्वीकारेका छन् ।

आमिरले एकै समयमा कस—कसलाई डेट गरेका थिए त्यस बारेमा भने खुलाएनन् । यसका साथै उनले कसैलाई धोका दिनु भएको छ ? भन्ने प्रश्नको जवाफमा धोका दिएको स्वीकारे । 

कार्यक्रममा कुराकानी गर्ने क्रममा उनले आफ्नो पहिलो श्रीमती रीना दत्तासँगको सम्बन्धको बारेमा पनि कुराकानी गरे । कुराकानी गर्दै उनले रीनासँग अलग हुँदाको पल निकै नै पीडादायक भएको बताए ।

आमिरको पहिलो विवाह १६ वर्षसम्म मात्रै टिकेको थियो । त्यसपछि उनले रीनालाई डिभोर्स दिएर किरण रावसँग विवाह गरेका थिए । किरणसँग विवाह गर्न उनले रीनालाई डिभोर्स दिए तर उनी त्यो पलमा खुशी भने नभएको बताएका छन् ।

उनले त्यो पल आफ्नो र रीनाको लागि मात्रै नभएर परिवारको लागि समेत दर्दनाक अवस्था भएको बताएका छन् । कार्यक्रममा अगाडि बोल्दै उनले आफू रीनासँग अलग भए पनि उनीप्रति आफ्नो माया र इज्जत नसकिएको बताएका छन् । रीनालाई एक असल नारी बताउँदै उनले रीनासँग बिताएका ती १६ वर्ष निकै नै विशेष र रमाइलो भएको उल्लेख गरे ।

सन् १९८६ रीनासँग भएको उनको विवाह सन् २००२ मा टुंगिएको थियो । सन् २००२ मा रीनालाई डिभोर्स दिएका आमिरले सन् २००५ मा किरणसँग विवाह गरेका थिए । किरण र आमिरका एक छोरा छन् । 

आमिरकी दोस्रो श्रीमती किरण र पहिलो पत्नी रीनाबीच राम्रो सम्बन्ध छ । यस विषयमा उनले रीना र किरणको सम्बन्धको लागि कहिल्यै पनि आफूले प्रयास गर्नु नपरेको बताए ।  उनीहरु दुवै जनाले सम्बन्धलाई राम्रो बनाइरहेका छन् ।

आमिरको पहिलो विवाहबाट एक छोरा र एक छोरी छन् । उनीहरु दुवै जना सिनेमामा आउन चाहन्छन् ।  छोरा  जुनैद अभिनयसँगै निर्देशन र  फिल्म मेकिङमा रुचि राख्छन् ।  

तर आमिरले भने छोरालाई आफ्नो सहारा लिएर हैन कि आफ्नै क्षमताका आधारमा अघि बढ्नु पर्ने सुझाव दिँदै आएका छन् । त्यस्तै आमिरकी छोरी इरा पनि अभिनयमा रुचि राख्छिन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया