त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर

२ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना

 मंसिर ७, २०८० बिहीबार १९:२१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

उपप्राध्यापक चलाउने

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई जिल्ला अदालत काठमाण्डौले दोषी ठहर गरेको छ । आज बिहीवार जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले छ जनालाई दोषी ठहर गर्दै कैद र जरिबानाको फैसला गरेको हो ।

दोषी ठहर भएका रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई २० हजार रुपैयाँ जरिबाना र दुई वर्षका दरले कैद सजायको फैसला भएको छ । यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चबापतको २८ लाख १७ हजार पाँच सय ९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

२०७७ सालको असोजमा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि नेपाल विद्यार्थी सङ्घको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले आक्रमण गरेको थियो । उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा गम्भीर चोट लागेको थियो । प्रहरीले आचार्य, रावल लगायतमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । आरोपीहरू जिल्ला अदालत काठमाण्डाैकाे आदेशमा धरौटीमा छुटेका थिए ।

ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाण्डाैमा विचाराधीन रहेको अवस्थामा गृह मन्त्रालयको प्रस्तावमा सरकारले आरोपीहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो । मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएपछि सर्वोच्चले मुद्दा अघि बढाउन आदेश दिएको थियो । चलाउनेले ढिलै भए पनि न्याय पाएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया