घृणायुक्त अभिव्यक्ति बन्द गर्न र अनावश्यक बल प्रयोग नगर्न आयाेगकाे आग्रह

 मंसिर ८, २०८० शुक्रबार १६:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले काठमाण्डौमा भएको प्रदर्शन र सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर घृणायुक्त अभिव्यक्ति बन्द गर्न र अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको छ । काठमाण्डौमा राष्ट्रिय युवा सङ्घ नेपाल र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान' का नामबाट व्यवसायी दुर्गा प्रसाईं समूहबाट हिजो बिहीवार प्रदर्शन भएको थियो ।

आयोगले आज प्रसाईं पक्षबाट प्रदर्शन गर्ने भनिएको तीनकुने र प्रसाईंको भक्तपुरमा रहेको निवास क्षेत्रको अनुगमनसमेत गरेको छ । तीनकुनेमा प्रदर्शनका लागि भेला भएकालाई सुरक्षाकर्मीले पक्राउ गरी प्रदर्शनमा रोक लगाएको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ ।

हिजो प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा दुवै पक्षबाट संवैधानिक, कानुनी र मानव अधिकारका मूल्य–मान्यता र मर्यादा विपरीत एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिइएको, बल्खुमा भएको प्रदर्शन अनियन्त्रित भई झडप हुँदा केही व्यक्ति घाइते भएको, सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति सार्वजनिक भएको अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधि नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवम् मानव अधिकारको मूल्य–मान्यता विपरीत रहेको आयोगको ठहर छ ।

आफ्ना विमति र विरोधका कार्यक्रम गर्दा संविधान, कानुन र मानव अधिकारका मूल्य–मान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन एवम् पाेस्टर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा नराख्न, सामाजिक सञ्जालको दुरुपयोग रोक्न, हिंसा भड्किने प्रकारका कुनै पनि गतिविधि नगरि जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आयोगले प्रदर्शनमा सहभागी समूहलाई आग्रह गरेको छ । साथै नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, उनीहरूमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्नसमेत आयोग सरकारलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया