सरकारले लगायो भाटभटेनी सुपरमार्केटलाई दूधजन्य खाद्यवस्तु बिक्री गर्न रोक

 कात्तिक २१, २०७५ बुधबार १६:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले भाटभटेनी सुपरमार्केटलाई दूधजन्य खाद्यवस्तु विक्री वितरणमा रोक लगाएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जमा रहेको भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दूधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दूधजन्य खाद्यवस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । 

तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीव्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्यजस्तुको पनि परीक्षण गरेको हो । परीक्षणमा दूधजन्य वस्तु गुणस्तरहीन पाइएको थियो ।

यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगञ्जस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइए पनि खाद्यवस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताउनु भयो ।
 
मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय  टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्यवस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो ।

सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ ।

सरकारले विगत २ महिनायता तरकारी, दूध, मासु खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्यवस्तुको बजार अनुगमन गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादकहरुको कारखानामा सिलबन्दी समेत गर्दै आएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया