लक्ष्मीपूजाका दिन बाँदर, मुसा र बिरालाका कारण केही ठाउँमा बिजुली गयो

 कात्तिक २२, २०७५ बिहीबार १४:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – तिहारको लक्ष्मीपूजाको दिन साँझ विद्युत्को माग र आपूर्ति व्यवस्थापनको निरीक्षण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रमा खटिएको थियो । 

टोलीले देशभरको विद्युत आपूर्तिको अवस्था हेर्दै आगामी दिनको विद्युत माग र आपूर्तिका विषयको योजना बनाउँदै छलफल गरिरहेको थियो । 

मुलुकभर बिनाअवरोध विद्युत आपूर्ति भइरहेकाले टोलीमा रहेका प्राधिकरणका कर्मचारीले एक आपसमा बधाई दिँदै खुशी साटासाट गरिरहेका थिए । ६ बजे नै लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत माग (पिक डिमाण्ड) भएको रेकर्ड कायम भइसकेको थियो । 

करिब ६.२० बजेतिर कार्यकारी निर्देशक घिसिङको मोबाइलमा घण्टी बज्यो । गौरीघाटका एक ग्राहकले गुनासो गरे ‘कुलमान सर हाम्रोतिर बिजुली गयो ।’ कार्यकारी निर्देशकले तत्काल वितरण तथा ग्राहक सेवा केन्द्र बानेश्वरका प्रमुखलाई फोन गरेर भन्नुभयो ‘गौरीघाट क्षेत्रमा बत्ती गयो, के भएको हो ?’  

उताबाट जवाफ आयो, ‘गौरीघाट क्षेत्रमा विद्युत आपूर्ति भइरहेको पशुपति क्षेत्रको ११ केभी प्रसारण लाइनमा बाँदर झुण्डिएर तार चुँडियो, मर्मतका लागि तयारी अवस्थामा रहेको टोली खटिसकेको छ ।’ 

अधिकतम क्षमता (लोड)मा चलिरहेको लाइनमा बाँदर झुंडिएपछि तार चुँडिएको हो । तारको मर्मत गरी करिव २४ मिनेटमा विद्युत् आपूर्ति सुरु गरिएको थियो । जनावरले प्राधिकरणको प्रणालीमा जनावरले चुनौती दिएको यो मात्रै पहिलो घटना हैन । 

गएको वर्ष पनि लक्ष्मीपूजाको दिन पनि भक्तपुरमा मुसाले सबस्टेसनमा क्षति पुर्याएको थियो जसले गर्दा विद्युत आपूर्तिमा समस्या भएको थियो । प्राधिकरणले जब काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्यको घोषणा गर्यो त्यतिबेला पनि बानेश्वरमा मुसा र लैनचौरमा बिरालोका कारण विद्युत आपूर्तिमा समस्या उत्पन्न भएको थियो । 

पर्वतको मोदी गाउँपालिकाको भोकलाङमा भने स्थानीयले रुख ढालेर विद्युत प्रसारण लाइनमा ढालिदिएका थिए । यसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध सिर्जना भएको थियो । अन्य क्षेत्रमा बिनाअवरोध विद्युत् आपूर्ति भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । 
लक्ष्मीपूजामा विद्युतमा उच्च माग ११०५ मेगावाट

यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) एक हजार एक सय पाँच मेगावाटमा (औद्योगिक क्षेत्र बाहेक) सीमित भएको छ । साँझ ६ बजे पिक डिमाण्ड रेकर्ड गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । ‘यस वर्षको लक्ष्मीपूजामा एक हजार दुई सय ७० मेगावाट पुग्ने अनुमान गरेका थियौं, तर त्यसभन्दा कम पिक डिमाण्ड सीमित भएको छ,’ उहाँले भन्नुभयो ।

गएको वर्षको लक्ष्मीपूजामा  पिक डिमाण्ड एक हजार एक सय ६५ मेगावाट थियो । प्राधिकरणका विद्युतगृहबाट चार यस ३९ मेगावाट, निजी क्षेत्रबाट तीन सय ४१ मेगावाट र भारतबाट तीन सय २५ मेगावाट विद्युत् आयात गरी आपूर्ति गरिएको थियो । 

गर्मी सकिएको र जाडो पनि सुरु भइनसकेको, विद्युत् चोरी नियन्त्रणमा चालिएका प्रभावकारी कदम, लिड बल्ब जस्ता ऊर्जा दक्षताका विद्युतीय उपकरणको प्रयोग लगायतका कारण यस वर्ष पिक डिमाण्ड घटेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । ‘पिक डिमाण्ड घट्नु भनेको प्राणालीलाई एकदमै राम्रो हो, यसले ऊर्जा लागत पनि घट्छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा हिउँदको विद्युतको माग व्यवस्थापनका लागि भारतबाट कम विद्युत् आयात गरी आफ्नै उत्पादनबाट माग धान्न सक्छौंँ ।’ 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया