काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
बाग्लुङ - बाग्लुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान चिन्तित भएका छन् ।
सिगानाका रामबहादुर खड्काले बगानमा यसपटक मात्रै नौ प्लाष्टिकका बोरामा झरेका सुन्तला सङ्कलन गरिएको बताउनु भयाे । सुन्तला बढी उत्पादन हुने सिगाना, बिहुँ र सर्कुवालगायत क्षेत्रमा औँशा कीराको सङ्क्रमणले सुन्तला झर्न थालेपछि उत्पादनमा गिरावट आएको हो । बजेट अभावमा औँशा कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय बाग्लुङमा सुन्तला उत्पादनमा कमी आएको खड्काले बताउनुभयो । बोटमा नै कीरा लागेर भुइँमा सुन्तला झर्न थालेको उहाँले बताउनु भयाे ।
'वार्षिक दुई लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मको आम्दानी सुन्तलाबाटै गर्दै आएको छु । बर्सेनि सुन्तलामा औँशाको सङ्क्रमण बढ्दै गइरहेको छ', खड्काले भन्नुभयो, 'बगानमा झरेकै सुन्तला नौ प्लाष्टिकका बोरा भइसके । रोग दिनप्रतिदिन बढ्दै गएको छ । स्थानीय सरकारले कुनै चासो दिएको छैन ।'
पाक्ने बेलाका सुन्तलामा औँशा कीरा देखिएपछि बिक्री गर्ने तयारीमा जुटेका किसानलाई निराश बनाइदिएको छ । अहिले एउटा बोटबाट १० देखि २० प्रतिशतसम्म सुन्तला झरेको बताउँदै यो क्रम बर्सेनि बढ्दै आएको किसानको भनाइ छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका कृषक समस्यामा परेका छन् ।
जिल्लाको धेरै सुन्तला उत्पादन हुने क्षेत्रमामा औँशा कीराले दु:ख दिन थालेको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत कुमार पुनले बताउनुभयो । उहाँका अनुसार सिँगाना, बिहुँ र सकुर्वालगायत ठाउँमा सुन्तला खेतीमा औँशाका सङ्क्रमण देखिएको छ ।
झरेका फल व्यवस्थापन गर्नका लागि प्लाष्टिकका बोरा प्रदान गरे पनि गएकाे वर्ष बजेट अभावमा उपचार गर्न सम्भव नभएको बताउँदै पुनले यस वर्ष औँशा नियन्त्रणका लागि छ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका किसान फल झरेपछि मर्कामा परेका छन्।
'बर्सेनि औँशाको समस्या बढ्दै आएको छ । कीराका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको छ', पुनले भन्नुभयो, 'झरेका सुन्तलाको सही व्यवस्थापन गर्न आवश्यक छ भने यसपटक सिगाना र बिहुँमा औँशाको उपचार गर्ने योजनामा छौँ । यसका लागि बजेटको समेत व्यवस्थापन भइसकेको छ ।'
सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँशा कीराको सङ्क्रमण देखिएपछि केन्द्रले किसानको बगैँचामा पुगेर त्यसको अध्ययनका साथै रोकथाम र व्यवस्थापनबारे सचेत गराउँदै आएको छ । यस वर्ष भने केही ठाउँमा उपचार पनि गरिने पुनले बताउनुभयो । उहाँका अनुसार सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।