तस्करीको सुन भित्रिरहँदा सुन व्यवसायीलाई चाहिँ सधैँ अभाव

 मंसिर २७, २०८० बुधबार ८:३५:० | वैद्यनाथ पाैडेल
unn.prixa.net

पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर ३० किलो सुन समातिएको हो । यसभन्दा अघि पनि ३३ किलो तथा ६० किलो अवैध सुन विमानस्थलबाट बरामद भइसकेको छ ।

यसरी बारम्बार ठूलो परिमाणमा अवैधरुपमा सुन बरामद भैरहँदा वैध बाटोबाट ल्याउन भने सधैँ समस्या हुने गरेको छ । नेपालमा वैधरुपमा सुन ल्याउने काम वाणिज्य बैङ्कहरुले गर्छन् । सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्यका अनुसार २०६६ सालभन्दा अगाडि नेपालमा सुन आयात गर्न पाइँदैन थियो ।

२०६६ सालपछि मात्र वैधरुपमा सुन आयात गर्न थालिएको हो । २०६६/६७ साल अगाडि नेपालमा विदेश गएर आउनेहरुलाई पनि सुन ल्याउने सुविधा थियो । सरकारका कर्मचारी तथा अन्य नागरिकहरु पनि बाहिर गएर आउँदा सुन चाँदी सजिलै ल्याउन पाउने व्यवस्था थियो । सुन ल्याउनलाई अहिले जस्तो कडिकडाउ थिएन । सुन ल्याउन पनि सजिलो अनि सस्तो पनि थियो । माग पनि कम भएको हुनाले बजारको आवश्यक्ता त्यसैगरी पूर्ति भइरहेको थियो ।

तर, २०६६/६७ सालमा भने नेपाल सरकारले कसैले पनि सुन झिकाउन नपाउने गरी प्रतिबन्ध लगायो । त्यसबेला वस्तु तथा सेवा आयात गर्नका लागि चार महिनाका लागि मात्र पर्याप्त विदेशी मुद्राको सञ्चितीको कारण देखाइएको थियो ।

त्यसबेला सुनको काम गर्ने व्यवसायीलाई गहना बनाउनका लागि अपुग सुन झिकाउने भनेर राष्ट्रबैङ्कलाई जिम्मा दिइयो । त्यो पनि केवल ६ महिनाका लागि मात्र भनेर जिम्मा दिइएको थियो । शाक्य भन्नुहुन्छ, ‘तर, ६ महिनाको लागि भनेर बिर्को लगाउने काम गरेको आज १३ वर्ष बितिसक्दा पनि अवस्था उही छ ।’

नेपालमा राष्ट्रबैङ्कले तोकेका वाणिज्य बैङ्कहरुले विश्वका विभिन्न बजारबाट ५०/५० किलोका दरले सुन खरिद गरेर ल्याउने काम गर्छन् । जसमा दुबइ तथा हङ्गकङ्ग प्रमुख बजार हो भने टर्कीबाट पनि खरिद गर्ने काम हुन्छ । विश्वका यी प्रमुख सुन बजारहरु हुन् ।

२०६६/६७ सालमा दैनिक २० किलोका दरले राष्ट्रबैङ्कले तोकेको वाणिज्य बैङ्कमार्फत् सुन आयात गर्ने भन्ने व्यवस्था मिलाइयो । तर, सुनको माग सधैँ एकैरुपले हुने कुरा होइन । बिहाबारी, लगन, चाडबाड नभएको बेला थोरै सुन भए पुग्छ । दशैँ, तिहार अनि बिहे, व्रतबन्धको समयमा धेरै माग हुने गर्छ । यस्तोमा आवश्यक परेको बेलामा ५/५ किलोको दरले बढाउन घटाउन सकिने व्यवस्था रहेको शाक्य बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘२०६९ सालमा सुनचाँदी व्यवसायी महासङ्घको गठन भएपछि महासङ्घको पहलमा बजारको माग अनुसार २० किलोबाट बढाएर २५ किलो तथा आवश्यक नभएका बेला घटाएर १५ किलो बनाउने पनि गरिएको थियो ।’

तर, पछिल्लो समय भने सरकारले दैनिक १० किलोको कोटा निर्धारण गरिएको छ । यसमा भने बजारको मागमा जति उतारचढाव आए पनि यो कोटामा घटबढ हुने गरेको छैन ।

शाक्यका अनुसार अहिले नेपालभरी ठूला, साना गरेर २५ हजार सुनचाँदी पसल छन् । ती सबै पसलेलाई १० किलो सुन भनेको १० हजार ग्राम हो । एक हजार ग्रामको एक किलो हुन्छ । १० हजार ग्रामले २५ हजार पसलेलाई बाँड्दा दिनको आधा ग्राम हुन आउँछ ।

उहाँ भन्नुहुन्छ, ‘दिनको आधा ग्राम सुन त्यो भनेको एक आना पनि हुँदैन । अब त्यसले पसल चल्छ कि चल्दैन भन्ने कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्ने हो । त्यो दिइएको पाइँदैन । ’महासङ्घको लामो प्रयासपछि ६ महिना अगाडि बिहेको समयमा साह्रै समस्या भयो भनेपछि अहिले सरकारले तोकेको वाणिज्य बैङ्कहरुमार्फत् दैनिक १० किलोबाट बढाएर २० किलो सुन दिने व्यवस्था गरेको छ ।

खासगरी नेपालमा बिहेको सिजनमा दैनिक ५०/६० किलो सुनको माग हुने गर्छ भने अरु समयमा १५/२० किलो सुनको माग हुने गर्छ । तर, लामो समय दैनिक १० किलो सुनको कोटा निर्धारण गरेका कारण पनि व्यवसायीलाई मर्का परेको शाक्य बताउनुहुन्छ ।

अहिले दैनिक २० किलो सुनको कोटा निर्धारण गरे पनि सिजनको बेला त्यो अपुग हुन्छ । बिहेको सिजनमा पहिले नै गहनाको अर्डर लिनुपर्ने र त्यो बेलामा सुनको अभाव हुने कारण व्यवसायी आफैँले बढी पैसा तिरेर किन्नुपर्ने बाध्यात्मक अवस्था रहेको उहाँको भनाइ छ ।

पुस्तैनी व्यवसाय गरिरहेकाहरुलाई सुनको अभावमा व्यवसाय गर्न समस्या हुने तर, तस्करीको सुन भने किलोका किलो आइरहने अमिल्दो अवस्था देखिएको छ । यसले एकातिर सरकारले राजश्व गुमाएको छ भने व्यवसायीले व्यवसाय गर्ने अवसर गुमाइरहेको पनि शाक्य बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया