सर्वोच्चबाट अवकाश हुँदा पनि चोखो भएर निस्कन चाहन्छु : प्रस्तावित न्यायाधीश पौडेल

 पुस १, २०८० आइतबार १९:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वाेच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसीकन निस्कन चाहेको बताउनुभएको छ ।

आइतवार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले आफूले ३० वर्षे न्यायिक सेवा निष्ठा र इमान्दारितका साथ बिताएको दाबी गर्नुभयो ।

प्रस्तावित न्यायाधीश पौडेलले आफूले हिंसाले राज्यको आत्मालाई अशक्त बनाउने र भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिने निष्कर्ष निकालेकाले त्यस्ता काममा आफू नलाग्ने अठोटका साथ काम गरिरहेको जिकिर समेत गर्नुभयो ।

पौडेलले आगामी दिनमा सर्वाेच्च अदालतमा मुद्दा फर्छ्याैटको कामले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले भारत र पाकिस्तानमा भन्दा नेपालको सर्वोच्च अदालतले मुद्दा फर्छ्याैटको कामलाई छिटो सम्पन्न गर्ने गरेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिंसाले राज्यको आत्मालाई अपाङ्ग बनाउँछ । भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिन्छ । यो मेरो आफ्नो अनुभूति हो । आजसम्म मैले यो ३० वर्ष काम गरेँ । निष्ठा र इमान्दारितामा रहेर काम गरेँ । मेरो बाँकी साढे ६ वर्ष छ । म त्यो चोखो भएर निस्कन चाहन्छु । तैँले के गर्छस् भन्दा मसँग अहिले समय छैन । म यतिनै भन्न चाहन्छु ।’

अर्का प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफूले संघीयताको बारेमा न्यायकर्मीहरुबीच छलफल गराउन कोसिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजनीतिक तहमा मात्रै संघीयताबारे धेरै छलफल भए पनि अदालतमा त्यसको छलफल नभएकाले त्यसमा जोड दिन आवश्यक रहेको उहाँको तर्क थियो । ढुंगानाले न्यायकर्मीहरुको बीचमा संघीयताबारे बहस चलाउने काममा पहल गरिदिन सरकार र सांसदहरुलाई समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानको रक्षा गर्ने सम्पूर्ण जिम्मेवारी अदालतमा छ । तर संघीयताको विषयमा अदालतमा न्यायाधीशहरुको बीचमा घनिभूत छलफल भएको छैन ।’

ढुंगानाले संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतलाई भएकाले पनि न्यायकर्मीहरुमाझ संघीयताबारे घनीभूत छलफल आवश्यक रहेको पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया