वडासदस्यले युवाहरुलाई उक्साएर प्रहरी टोलीमाथि आक्रमण गर्न लगाए : दैलेख इलाका प्रहरी

 कात्तिक २४, २०७५ शनिबार १०:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखकाे दुल्लूमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा दुर्इजना प्रहरी घाइते भएका छन् । ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरी निरीक्षक बिष्टको टाउकोमा ४ वटा टाँका लगाइएको छ । प्रहरी सहायक निरीक्षक खड्काको चाहिँ ढाड र घाँटीमा भित्री चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बाटो नै अवरुद्ध गरी जुवा खेलिरहेको खबर पाएको आधारमा घटनास्थलमा पुग्दा दुल्लू नगरपालिका–७ का वडासदस्य सूर्यबहादुर थापाले युवाहरुलाई उक्साएर आक्रमण गरेकोे प्रहरीले आरोप लगाएको छ । ‘जनप्रतिनिधिले विकृति रोक्नुपर्नेमा उहाँले उक्साउनुभयो’, प्रहरी कर्मचारीले टिप्पणी गर्नुभयो । 

‘कौडा नियन्त्रण गर्न आएको प्रहरी टोलीले अपराधी पक्राउ गरेजसरी आक्रमक शैलीमा धरपकड गर्न थालेपछि मलाई नै पक्राउ गर्नुस् भनेर प्रतिवाद गरिरहेको बेला कौडा खेल्न र हेर्न आएका युवाहरुले ढुंगा प्रहार गरेछन्’, वडासदस्य थापाले प्रतिक्रिया दिनुभयो ।

घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेल र प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोली बिहान त्यहाँ पुगेको छ । दुल्लू नगरपालिका नगरप्रमुख घनश्याम भण्डारीले घटनामा प्रहरी र स्थानीय समेत घाइते भएकोले छलफलबाट समस्या समाधान खोज्ने प्रयत्न भएको बताउनुभयो ।

घटनालार्इ नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेकाे थियाे । प्रहरीकाे लाठी चार्जबाट स्थानीयवासी ६१ वर्षका डिलबहादुर थापाकाे तिग्रामा चाेट लागेकाे थियाे । उपचारपछि उनी घर फर्केका छन् । 
  

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया